बैशाख १५, २०७९ बिहिबार

लोकप्रिय कबड्डी फ्रेन्चाइजको चौँथो फिल्म 'कबड्डी ४ः द फाइनल म्याच' को ट्रेलर सार्वजनिक भएको छ। बुधबार युट्युव मार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। 

उपेन्द्र सुब्बा र रामबाबु गुरुङले संयुक्त रुपमा लेखेको फिल्मलाई गुरुङले नै निर्देशन गरेका हुन्। कबड्डी सिरिजको अन्तिम फिल्म भएकाले पनि 'कबड्डी ४' बहुप्रतिक्षित मानिएको छ। फिल्ममा पहिलेकै कथाले निरन्तरता पाउनेछ। अधिकांश पात्रहरू पहिलेकै दोहोरिन्छन् भने केही नयाँ पात्रको पनि प्रवेश गराइएको छ। 

फिल्ममा बमकाजीको रुपमा सौगातको पुनरागमन भएको छ भने नयाँ पात्र शान्तीको प्रवेश भएको छ। जसको भूमिकामा मिरुना मगर देखिँदै छिन्। साढे ४ मिनेट लामो ट्रेलरले फिल्ममा कस्तो कथा रहेको छ भन्ने संकेत दिएको छ। ट्रेलर हेरेर दर्शकले फिल्मको कथाको अनुमान त लगाइरहेका छन् साथै यसले कौतुहलता पनि बढाएको छ। 

पहिलो फिल्मदेखि नै काजीको बिहेमा केन्द्रीत कथा चौँथो फिल्मसम्म लम्बिएको छ। दर्शकमा रहेको एउटा मुख्य कौतुहलता पनि काजीको बिहे हुन्छ कि हुँदैन भन्ने हो। ट्रेलरले यस पटक काजीको बिहे हुने संकेत दिएको छ। तर, यसपटक पनि काजीको प्रेममा अवरोध बनेर बमकाजी आएको छ। 

फिल्मको ट्रेलरलाई साढे ७ लाख भन्दा बढी पटक हेरिसकिएको छ भने ८५ हजार भन्दा बढी लाइक र ३३ सय भन्दा बढी प्रतिक्रिया आएको छ। जसमा सबै प्रतिक्रिया सकारात्मक रहेका छन्।

दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्म जेठ १३ देखि प्रदर्शनमा आउँदैछ।