बैशाख २०, २०७९ मंगलबार

गतवर्षको हिट गीत हो, ‘रम रम मरौटी’ । नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत तथा खेम र अस्मिता अधिकारीको स्वर रहेको गीतलाई स्रोता दर्शकले निकै रुचाए ।

अभिनेत्री पूजा शर्मा र मोडल ओबी रायमाझीको नृत्य रहेको गीतको भिडियोले युट्युबमा छोटो समयमै करोड भ्युज पायो । अहिले यो गीतको भिडियोले युट्युबमा २ करोड ७५ लाख बढी भ्युज पाइसकेको छ । 

एउटा गीत हिट हुँदा सर्जक, गायक–गायिका, मोडलदेखि सम्पूर्ण टिमलाई खुशी मिल्ने गर्दछ । त्यो स्वभाविक पनि हो । तर यो गीतको सन्दर्भमा भने उल्टो भएको छ । ‘रम रम मरौटी’सँग जोडिएका केही प्रमुख पात्रलाई गीतले खुशीभन्दा पीडा धेरै दिएको छ । गीतका मोडल ओबी रायमाझीले सोही कुरा बताएका छन् । उनी भन्छन्, ‘रम रम मरौटीले जति खुशी दियो नि, त्यो भन्दा धेरै पीडा दिएको छ मलाई ।’ 

अहिले गीतका मोडल ओबीको सर्जक नेत्र अर्याल, गायक खेम सेञ्चुरी, लगानीकर्ता प्रिन्सेस खरेलसँग बोलचाल समेत बन्द भएको रहेछ । कुनै समय खेम र ओबी निकै घनिष्ट मानिन्थे । 

‘जब रम रम मरौटी हिट भयो अनि टिमसंग सम्बन्ध राम्रो भएन’ ओबीले भनेका छन् –‘किन कि हिजो जे जसरी काम गर्ने सल्लाह भयो सबै चेन्ज हुनु भो ।’ ओबीले आफ्नो युट्युब च्यानलमा राखिएको उक्त गीत हिट भएपछि आर्थिक कारण टिमसँग सम्बन्ध राम्रो नभएको बताएका हुन् ।