बैशाख २१, २०७९ बुधबार

काठमाडौं गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन पनि सार्वजनिक गरेका छन्।

यो गीतको पुरुष र महिला भर्सन सुपरहिट भैसकेको छ। क्रिएटिभ ह्याट्सले तयार पारेको यो गीतमा कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको स्वर छ।

गीतको भिडियोमा मदनकृष्ण र नायिका आँचल शर्माले अभिनय गरेका छन्। जहाँ, आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छिन्। बिरामीका कारण सबै कुरा बिर्सिएका आफ्ना हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा यो गीतको भिडियो तयार पारिएको छ।​

सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाइँको छायांकन र सम्पादन छ। हरिको क्रिएटिभ हेट्सले बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको ७२ औं जन्मदिनको अवसर पारेर भिडियो नै उपहार दिएको हो।

कार्यक्रममा भिडियो हेरेर नायिका आँचल शर्मा रोएकी थिइन्। मदनकृष्णले पनि आफूले जिन्दगीमा धेरै गीत गाउन नसकेको भन्दै यो गीत आफ्ना लागि सधै नै विशेष रहने बताए।

गायक तथा संगीतकार पुष्पन प्रधानले यो गीत सय करोड दर्शक पाउने आफ्नो जीवनको पहिलो गीत भएको बताउँदै यसले मदनकृष्णको स्वर पाउनु थप उपलब्धिको रुपमा व्याख्या गरेका छन्।

एक वर्ष अघि सार्वजनिक भएको यो गीत उस बेला पनि खुबै रुचाइएको थियो। मदनकृष्णले यसअघि अरु कसैको स्वरमा हिट भइसकेको फूलबुट्टे सारी पनि आफ्नो स्वरमा रेकर्ड गराएका थिए।