बैशाख २७, २०७९ मंगलबार

अक्षयको करिअरकै सबैभन्दा महँगो काठमाडौं- बलिउड अभिनेता अक्षयकुमार अभिनित 'पृथ्वीराज'को ट्रेलर सार्वजनिक भएको छ। अक्षयको करिअरमा सबैभन्दा ठूलो बजेटमा बनेको फिल्मको ट्रेलर सोमबार युट्यूब मार्फत सार्वजनिक गरिएको हो। 

चन्द्रप्रकाश द्विवेदीको लेखन तथा निर्देशनमा बनेको हिस्ट्रिकल एपिक एक्सन ड्रामा मा 'पृथ्वीराज' ३०० करोडको बजेटमा बनेको हो। यसअघि अक्षय अभिनित तामिल फिल्म '२.०' को बजेट ५०० करोड रहेको थियो। तर, उक्त फिल्ममा मुख्य भूमिकामा रजनिकान्त थिए। 

'पृथ्वीराज' छैटौँ देखि १२औँ शताब्दीसम्म हाल भारतको राजस्थान र त्यस आसपासको क्षेत्रमा राज गरेको चाहमना वंशका राजपुत राजा पृथ्वीराज चौहानको जीवन कथाबाट प्रेरित फिल्म हो। १२ औँ शताब्दीका हिन्दी कवि चन्द बार्दइको स्तुतिगीत ‘पृथ्वीराज रासो’मा आधारित रहेर फिल्म बनाइएको हो। 

फिल्ममा अक्षयसँगै सोनु सुद र सञ्जय दत्त पनि मुख्य भूमिकामा देखिएका छन्। त्यस्तै पूर्व मिस वर्ल्ड मानुषी चिल्लरले 'पृथ्वीराज' मार्फत अभिनयमा डेब्यु गरेकी छन्। फिल्मको ट्रेलरले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ। धेरैले इतिहासमा आधारित ठूलो क्यानभासको फिल्म आएकोमा खुशी व्यक्त गरेका छन् भने केहीले पृथ्वीराज पात्रमाथि न्याय हुनेमा शंका गरिरहेका छन्। 

यश राज फिल्म्सको ब्यानरमा बनेको फिल्म जुन ३ देखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउँदैछ।