जेठ १२, २०७९ बिहिबार

बाजुराका अधिकाशं विद्यालय सञ्चालनमा आएसँगै विद्यार्थीहरू खाली झोला बोकेर विद्यालय पुगेका छन् । उनीहरूले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

शैक्षिक सत्र सुरुसँगै बाजुराका विद्यालय सञ्चानमा आए पनि समयमै पाठ्यपुस्तक नआइपुगेकोले विद्यार्थीहरू पर्खाइमा बसेका हुन् । यो वर्ष भर्ना भएका विद्यार्थीहरूलाई इन्टरनेटको सहायताले ह्वाइट वोर्डमा लखेर पढाइ गर्न बाध्य छन् ।

बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं २ धुरालसैन माध्यमिक विद्यालयका प्रधानाध्यापक महासिंह थापाले भने, “विद्यार्थीहरूलाई भर्ना त लियौँ, तर अहिलेसम्म पाठ्यपुस्तक नआइपुग्दा पढाउन समस्या भएको छ ।

कक्षा एक, दुइ, तीन, पाँच र आठ कक्षा सम्म त पुराना पाठ्यपुस्तकले पठनपाठन गर्ने गरेका विद्यालयले जनाएको छ । चार, सात, नौ कक्षाको पाठ्यक्रम नयाँ भएकोले सो कक्षाका विद्यार्थीहरूलाई पढाइ गर्न निकै समस्या भएको प्राधानाध्यापक थापाले बताए ।

त्यसै गरी छेडेदह गाउँपालिकाको ७ मा रहेको सरस्वती आधारभूत विद्यालयमा पनि पाठ्यपुस्तक नुहुँदा त्यहाँ पनि विद्यार्थीहरुलाई पढाइ गर्न निकै समस्या भएको शिक्षक मनोज नेपालीले बताए । दुई वर्षसम्म कोरोना महामारीका कारण अधिकाशं विद्यार्थीहरू पढाइमा निकै कमजोर छन्, शिक्षक नेपालीले भन्नुभयो, तर विद्यालयमा  शिक्षकको कमी हुनु र समयमै पाठ्यपुस्तक नपाइनुले विद्यार्थीको पढाइमा कमजोर हुने गरेको उनी बताउँछन् ।

कक्षा एक, दुइ तीन कक्षाको पायपुस्तक वितरण भइरहेको र बाँकी  छापाखानामा नै छापिन बाँकी रहेको जानकारी विद्यालयहरूले पाएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएसँगै बाजुराका करीब २७४ विद्यालयले विद्यार्थी भर्ना लिइर सञ्चानमा समेत आएको शिक्षा विकास तथा शिक्षा इकाइ बाजुराले जनाएको छ । यो वर्ष मतपत्र छपाइको कारण किताब छाप्न ढिलाइ भएकोले विद्यालयले समयमै पाठ्यपुस्तक नपाएको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका सयोजक हर्कबहादुर सिंहले बताए ।

बाजुरामा तीन वटा क्याम्पस ६५ माध्यमिक विद्यालय र २०९ आधारभूत विद्यालय रहेका छन् ।