जेठ १३, २०७९ शुक्रबार

मोडल गरिमा शर्माले घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको फिल्म 'लन्डन टु पेरिस'बाट सिनेमा क्षेत्रमा डेब्यू गर्न लागेकी छिन्।

गरिमाले फिल्ममा अनुबन्धित भएको जानकारी दिइन्।

केही समय अगाडि गरिमाले फिल्म ‘सुदूर’ बाट डेब्यू गर्न लागेको चर्चा थियो। तर उनले फिल्मका लागि कुरा मात्र भएको बताइन्।


'लन्डन टु पेरिस' फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजजले लेखेका हुन्। 

एबी इन्टरनेसनलले निर्माण गर्न लागेको फिल्म बेलायत र फ्रान्समा छायांकन हुनेछ। फिल्म असारको दोस्रो साताबाट छायांकनमा जाने बताइएको छ।

आधुनिक प्रेमकथामा निर्माण हुने फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भइसकेकी छिन्। फिल्मका लागि अभिनेता फाइनल भइसके पनि सार्वजनिक गरिएको छैन। 

अमित बस्नेत, अजितकुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्मको सह-निर्माता अजित सिंह हुन्।

टिकटकबाट चर्चामा आएकी गरिमा शर्मा पछिल्लो समय म्यूजिक भिडिओमा जमिरहेकी छन्।