जेठ १४, २०७९ शनिबार

दार्चुला : दार्चुलामा ताराकिसन फाउन्डेसनको आयोजना तथा दार्चुला साहित्य समाजको सहकार्यमा पहिलोपटक बृहत् साहित्य महोत्सव सुरु भएको छ। महोत्सव शुक्रबार र शनिबार दुई दिन चल्नेछ। महोत्सवमा देशभरका साहित्यकारहरूको सहभागिता छ। 

महाकालीका मेयर नरसिंह चैसिरले सदरमुकाम खलंगामा महोत्सवको उद्घाटन गरे। दार्चुलाको संस्कृति र साहित्यलाई अन्तरराष्ट्रियकरण गर्न महोत्सव आयोजना गरिएको हो। दार्चुलाको साहित्य र संस्कृति चिनाउन नगरपालिकाको पूर्ण सहयोग गर्ने मेयर चैसिरले रहने प्रतिबद्धता व्यक्त गरे। 

सुदूरपश्चिम विश्व विद्यालयका पूर्ण उपकुलपति अमराज जोशीले सुदूरपश्चिमको संस्कृति पहिचान गराउन आफूहरूले भूमिका खेलिरहेको बताए।

संस्कृतिको संरक्षण र पहिचान गर्न यहाँका महिलाको अग्रसरता रहेको प्रा.डा. लक्ष्मण गौतमले बताए। प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेलले साहित्य अन्तरराष्ट्रियकरण गर्न आवश्यक रहेको बताए। महोत्सवमा व्यासी शौका समुदायको झाकी, दुहुँ र व्यासको सरौ नाच, गौरा पर्वको नाच, दमाहा बाजा, छलिया नाचलगायतको प्रस्तुति देखाइएको थियो। महोत्सवमा चर्चित साहित्यकारको सहभागिता छ ।