हेटौंडा । वन्यजन्तुको संरक्षण माग गर्दै वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री क्याम्पस) मा अध्ययनरत विद्यार्थीहरुले आइतबार हेटौंडामा केहीबेर सडक अवरुद्ध गरेका छन् ।
फरेष्ट्री क्याम्पसभित्र रहेका वन्यजन्तुको संरक्षणमा सरोकारवालाले कुनै चासो नदेखाएको भन्दै क्याम्पसमा अध्ययनरत विद्यार्थीले पूर्व–पश्चिम राजमार्ग केहीबेर बन्द गरेका हुन् ।
उनीहरुले ‘क्याम्पस प्रशासन मुर्दावाद, चित्तल मार्न पाइँदैन, यस्तो प्रशासन चाहिँदैन’ जस्ता नारा लगाएका थिए ।
क्याम्पसको जंगलमा रहेका वन्यजन्तु संरक्षणको माग गर्दै बारम्बार क्याम्पस प्रशासन, जिल्ला प्रशासन कार्यालय मकवानपुर र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदासमेत प्रशासन मौन बसेकाले आफुहरु विरोधमा उत्रिन बाध्य भएको विद्यार्थीहरुको भनाइ छ ।
क्याम्पस परिसरको खुल्ला क्षेत्रलाई बन्द गरिनुपर्ने, सडक क्षेत्रको भू–भाग कटाएर क्याम्पस परिसरमा पर्खाल लगाउनुपर्ने, वन्यजन्तुको संरक्षणका लागि उचित व्यवस्था हुनुपर्ने, उपमहानगरपालिकाले भुसिया कुकुरको व्यवस्थापन गर्नुपर्ने र क्याम्पसका कर्मचारीले पालेका कुकुरलाई छाडा छोड्न बन्द गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।
क्याम्पस परिसरमा आइतबार बिहान एउटा चित्तल मृत फेला परेको थियो । मृत चित्तललाई डिभिजन वन कार्यालयले व्यवस्थापनका लागि लाने गरेको र सोबारे कुनै अनुसन्धान नै नहुने भएकोले आफुहरुले विरोध गरेको विद्यार्थीहरु बताउँछन् ।
क्याम्पसका सबै क्षेत्र खुल्ला रहेका कारण चोरी सिकारी हुने गरेको र क्याम्पसका कर्मचारीहरुले पालेका तथा हेटौंडा उपमहानगरपालिकाले भुसिया कुकुरको व्यवस्थापन नगर्दा क्याम्पस परिसरमा संरक्षित वन्यजन्तुहरु मृत अवस्थामा फेलापर्ने गरेको उनीहरु बताउँछन् ।
फरेष्ट्री क्याम्पसमा पछिल्लो एक हप्तामा मात्रै तीनवटा चित्तल मृत अवस्थामा भेटिएको उनीहरु बताउँछन् ।
फरेष्ट्री क्याम्पस परिसरभित्र लकडाउनको अवधि यतामात्रै १६ वटा चित्तल मृत अवस्थामा भेटिएको विद्यार्थीहरुले बताए ।