जेठ १९, २०७९ बिहिबार

गायक शिरीष देवकोटा र ऋतु कंडेलको स्वरमा नयाँ रोइला (खेली) गीत सार्वजनिक भएको छ ।

बुधबार साँझ ‘कहाँ हो तिम्रो मावल’ बोलको रोइला गीत सार्वजनिक भएको हो । शिरीष देवकोटाकै शब्द एवं संगीत रहेको गीतलाई कृष्ण बि.क. (भान्जा)ले एरेन्ज गरेका छन् । 

काजिश श्रेष्ठको निर्देशनमा यसको भिडियो तयार भएको हो । भिडियोमा मोडल अञ्जली अधिकारी र लोमश शर्माको नृत्य रहेको छ । साथै, गायक÷गायिका पनि भिडियोमा प्रस्तुत छन् ।

रोइला गीतका पर्याय मानिने शिरीषको एक वर्षको अन्तरमा यो नयाँ रोइला गीत सार्वजनिक भएको हो । गतवर्ष उनको ‘बोलिदेऊ आधार’ बोलको रोइला गीत सार्वजनिक भएको थियो । 

शिरीषका ‘खरबारीमा जान्छु, मुठ्ठी लिन्छु टोलाउँछु, पात बजाउँदै बोलाउँछु’, ‘म त आउने थिइनँ, यही चाल होला भन्या भा’, ‘दुर्गा हौ कि भवानी, बढ्दै गा‘को जवानी’, ‘अहिले टारी खेतमा गहुँ नछर तिल छर, माया लाउन मिल्छ र’ जस्ता रोइला गीत निकै चर्चित मानिन्छन् । नयाँ रोइला गीत ‘कहाँ हो तिम्रो मावल’लाई पनि श्रोता एवं दर्शकले रुचाउने विश्वास लिएका छन् ।

‘भिडियोको भ्युज अलि कम छ । तर, जतिले हेर्नुभएको छ राम्रो प्रतिक्रिया दिनुभएको छ’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे बताउँदै उनले भने, ‘यस प्रकारका गीतको भ्युज विस्तारै बढ्ने गरेको छ । यो गीतले पनि विस्तारै राम्रो भ्युज पाउँदै जाने विश्वास छ ।’

‘कहाँ हो तिम्रो मावल’को भिडियोलाई अजय रेग्मीले क्यामेरामा कैद गरेका हुन् भने दीपक विष्टले यसको सम्पादन एवं कलर गरेका हुन् । भिडियो गायिकाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।