विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पुस्तक अभाव भएको छ ।
हिमाली जिल्ला मनाङमा शैक्षिक सत्र सुरु भएको तीन साता बढी हुँदा ५० प्रतिशत मात्रै पुस्तक आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई मनाङका प्रमुख मतिलाल चपाईंले जानकारी दिए ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा नै सबै पुस्तक छपाइ भ्याएर प्रत्येक जिल्लामा आउनुपर्ने भए पनि समयमा पूरा नगर्दा त्यसको असर प्रत्यक्ष रुपमा बालबालिकाको भविष्यमाथि परेको उनी बताउँछन् ।
“सबै विद्यार्थी एउटै श्रेणीका हुँदैनन् । केहीलाई पुस्तकबिना बुझाउनै मुस्किल छ । तर, पुस्तक अभावले बालबालिकाको शिक्षण सिकाइमा असर परेको छ,” उनले भने, “तेस्रो हप्ता बढी भैसक्दा बल्ल ५० प्रतिशत पुस्तक जिल्लामा आइपुगेको छ । पूरै आउन अझै समय लाग्ने अवस्था देखिएको छ ।”
सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ ।
जनक शिक्षाले अझै ३३ लाख थान पुस्तक छाप्नै बाँकी रहेको जनाएको छ । चालू शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म एक करोड ६५ लाख थान मात्रै पुस्तक छापिएको केन्द्रले जनाएको छ । जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक छपाइ सम्पन्न गरेको र १५ प्रतिशत छपाइ भइरहेको जनाएको छ ।
यस वर्षको शैक्षिक सत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्ने हो । अहिलेसम्म एक करोड ६५ लाख थान पुस्तक छपाइ सम्पन्न भएर वितरण गरेको जनाउँदै आएको छ । बाँकी पुस्तक असार पहिलो हप्तासम्म छपाइ सक्ने र अबको एक महिनाभित्र नै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउने जनक शिक्षाले जनाएको छ ।
केन्द्र बिक्रेतामार्फत ७७ वटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको जनाएको छ । काठमाडाँै उपत्यकाभन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताउँदै आएको छ । बाहिरी जिल्लामा अपुग भएको पुस्तक दैनिक एक/दुई ट्रक पठाइरहेको पनि जनाएको छ ।
सबै पुस्तक जिल्लामा आइनपुगेको र केही थान आएकाले पठनपाठनलाई विभिन्न माध्यमबाट विद्यार्थीलाई पठनपाठनमा सहज बनाउने प्रयासमा लागिरहेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताए । विद्यालय आए पनि पुस्तक सबै विषयका पुस्तक आइनपुग्दा पठनपाठनमा सकस भएको कोइरालाले बताए ।
उनका अनुसार पुस्तकका पाठ डाउनलोड गरी सम्भव भएसम्म विद्यार्थीलाई ‘हेन्सआउट’ दिएर पठनपाठन हुँदै आएको छ ।
लोकप्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक नपाउँदा पुस्तक हेरेर होमवर्क गर्न समस्या भएको बताउँछन् । शिक्षकले सिकाएका सबै दिमागमा लिन नसकेको अवस्थामा किताब हेर्न नपाएर सिके पनि सहज भने नभएको उनी बताउँछन् ।