काठमाडौं- शुक्रबारदेखि प्रदर्शनमा आउँदै गरेको अक्षय कुमार अभिनित बलिउड फिल्म 'सम्राट पृथ्वीराज' ३ देशमा प्रतिबन्धित भएको छ। ऐतिहासिक कथामा आधारित फिल्मलाई खाडीका ३ मुलुक कुवेत, ओमान र कतारमा प्रतिबन्ध लगाइएको हो।
'सम्राट पृथ्वीराज' चौहान (चाहमना) वंशका राजा पृथ्वीराज चौहानको जीवनीमा आधारित फिल्म हो। जसमा उनको १२ शताब्दीको समय देखाइएको छ जतिवेला पृथ्वीराज राजगद्दीमा थिए। पृथ्वीराज रासो नामक कविता संग्रहमा आधारित रहेर फिल्म बनाइएको हो।
फिल्ममा राजा पृथ्वीराज र पर्सियन साशक महोम्मद घाज्नीको युद्धलाई केन्द्रमा राखिएको छ। जसको विरोध गर्दै कुवेत, ओमान र कतारमा फिल्मको प्रतिबन्ध लगाइएको हो। एउटा कोणबाट मात्रै कथा बनाएर इतिहासमाथि अन्याय गरेको भन्दै ती देशले फिल्मको प्रदर्शनमा रोक लगाएका हुन्।
चन्द्रप्रकाश द्विवेदीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अक्षयबाहेक सञ्जय दत्त, सोनु सुद, मानुषी चिल्लरको मुख्य भूमिका रहेको छ। सम्राट पृथ्वीराज पूर्व मिस वर्ल्ड चिल्लरको डेब्यू फिल्म हो।
भारतका विभिन्न राज्यका मुख्य मन्त्रीहरूले भने फिल्मले हरेक भारतीयले पढ्नुपर्ने इतिहासको कथामा फिल्म बनाएको भन्दै 'सम्राट पृथ्वीराज'को तारिफ गरेका छन्।