जेठ २०, २०७९ शुक्रबार

नेपाल उद्योग परिसंघले भारतीय र बंगलादेशी पर्यटक लक्षित ‘समर टुरिजम क्याम्पेन’ शुरू गरेको छ । 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभियानको शुरू गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक समेत विस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरूलाई नेपालमा आकर्षित गर्न यो अभियान संचालन गरेको बताए । 

हाल भारत एवं बंगलादेशमा निकै गर्मी छ । गर्मी मौसममा उनीहरु बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित गर्ने उनको विश्वास छ ।

‘पर्यटनले नेपाललाई विश्वमा चिनाएको छ । पर्यटन यस्तो उद्योग हो जहाँ एक विदेशी एक पटक आउँदा त्यसले धेरै क्षेत्रमा मूल्यअभिबृद्धि गर्नुका साथै विदेशी मुद्रा आर्जन हुन्छ । त्यसैले परिसंघले नेपालको पर्यटन प्रबद्र्धन गर्न र पर्यटक भित्र्याउन यो अभियान संचालन गरेको हो,’ उनले भने । 

परिसंघ जस्तो जिम्मेवारी संस्थाले लामो समय कोभिडबाट प्रभावित पर्यटन उद्योगको प्रबद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले नै अभियान संचालन गरेको उनले बताए । 

यो अभियानले भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक भित्र्याउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास अग्रवालले व्यक्त गरे । 

नेपाल उद्योग परिसंघका उपाध्यक्ष राज बहादुर शाहले भारत र बंगलादेशको उच्च गर्मीबाट शीतलता खोजिरहेका भारतीय र बंगलादेशी पर्यटकका लागि  नेपालको मौसम अनुकूल रहेकाले यो अभियानले उनीहरुलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे ।

‘नेपालमा जस्तो अनुकूल मौसम अन्य कुनै पनि मुलुकमा छैन । कोभिडका कारण दुई वर्ष बाहिर निस्किएनन् । भारत र बंगलादेशमा अहिले निकै गर्मी छ । त्यसैले उनीहरु नेपालको मौसममा रमाउन आउन यो अभियानले पक्कै आकर्षित गर्नेछ,’ उनले भने ।

परिसंघका महानिर्देशक दीपकराज जोशीले भारत र बंगलादेशमा रहेका परिसंघको नेटवर्कबाट पनि यो अभियान प्रबद्र्धन गरिने बताए । 

परिसंघले भारतमा अल इन्डीया एसोसिएसन अफ इन्डस्ट्रीज, फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीज, फेडेरेसन अफ इन्डीयन च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रीज, पीएचडी च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीसँग सहकार्य गर्दै आएको छ । यस्तै बंगलादेशको मेट्रोपोलिटीन च्याम्बर अफ कमस एण्ड इन्डस्ट्री, र ढाका च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीसँग पनि परिसंघले सहकार्य गर्दै आएको छ । यो अभियान यी संस्थाहरुमार्फत पनि ती देशमा प्रबद्र्धन गरिने जोशीले बताए ।

यस्तै भारत र बंगलादेशमा रहेका पर्यटनसँग सम्बन्धित संस्थाहरूसँग पनि परिसंघले अन्तर्राष्ट्रिय रुपमा समन्वय र सहकार्य गर्दै आएको छ । 

परिसंघको पर्यटन समिति सभापति पम्फा धमलाले नजिकको छिमेकीबाट यो अभियान संचालन गर्न लागिएको जानकारी गराइन् । उनले यो अभियानले नेपालको पर्यटन प्रबर्द्धनमा निकै सहयोग गर्ने विश्वास व्यक्त गरिन् । 

पत्रकार सम्मेलनमा परिसंघको पर्यटन समिति सदस्यहरु अशोक पोख्रेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, नाट्टा अध्यक्ष रमेश थापा, सुरेश बुडाल लगायतले परिसंघले संचालन गरेको यो अभियानले भारत, बंगलादेश मात्रै नभई अन्य मुलुकका पर्यटक पनि आकर्षित गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । 

परिसंघका अनुसार सन् २०१९ मा २ करोड ६३ लाख बढी भारतीय अन्य मुलुकको भ्रमण गएको तथ्यांक छ ।

यस्तै सोही अवधिमा २५ लाख बंगलादेशी नागरिक पनि अन्य मुलुकमा भ्रमणका लागि निस्किएको देखिन्छ । 

कोभिड पछि उनीहरु विस्तार बाहिर निस्कन थालेकाले नै उनीहरुलाई लक्षित गरी यो अभियान संचालन गरिएको परिसंघले जनाएको छ ।