जेठ २१, २०७९ शनिबार

काल्पनिक तस्बिर

कुनैबेला म पनि एउटा प्रेमी थिएँ 

नदीसँगै बग्ने नदी थिएँ 
गतिशील छाल - तरंग - बहाव थिएँ !

नअस्ताउँने घाम 
झिल्मिल ईन्द्रेणी 
पूर्णिमाको जून थिएँ !

वर्षायामको घनघोर वर्षा -
हुरी / बतास र / तेज आँधी थिएँ !

सपना देख्ने आँखा थिएँ -
भाव बुझ्ने हृदय -
र /प्रेम सम्झिने मस्तिष्क थिएँ !

फुलसँगै फुल्ने कोमल फुल थिएँ -
पवित्र  - नरम - स्निग्न भावना थिएँ !

बोध थिएँ - बोधहरूको बोधार्थ थिएँ -
पदहिन - पदार्थ थिएँ -
शब्दहरूको शब्दार्थ थिएँ !

- अर्थहरूको - अर्थ र / चेतनाहरूको - चेतना थिएँ !

के मात्रै थिइनँ र म त्यतिबेला -

वेगहरूको आवेग थिएँ -
आवेगहरूको वेग थिएँ !

रङ्गहरूको रङ्ग थिएँ 
उन्मादहरूको उमंग थिएँ !

- अबोध - चञ्चल - एउटा मानिस थिएँ !

अहिले पो उदास पहाड भएँ -
अहिले पो उजाड मौसम भएँ !

- कुनैबेला म पनि एउटा प्रेमी थिएँ !

 

- मौन आवाज