अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा डेब्यू गरेका छन् ।
खनाल निर्देशित फिल्मको आइतवार ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो ।नयाँ र पुराना कलाकारको समिश्रण रहेको फिल्म बखानमा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ । सार्वजनिक ‘तिम्रो सुन्दर आँखा’ गीतमा सुरेश वाग्लेको शब्द, सुभाष भुषालको संगीत छ भने सुगम पोखरेल र अस्मिता अधिकारीले स्वर भरेका छन् । रोमान्टिक थिमको गीतको भिडियोमा आकाश र प्रमिला फिचर्ड छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको अडियो र भिडियो बलियो बनेको छ । यो गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक खनालको भनाई छ ।
निर्देशक खनालले आफ्नो जीवनकालमा फिल्ममा अभिनय गरेर सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्रयास गरेको बताए । उनले आफूले निर्देशन गरेको फिल्मले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । खनालले भने, ‘मेरो फिल्मले व्यापारमा रेकर्ड नराख्ला तर नेपालमा यति राम्रो पनि फिल्म बन्छ भनेर गर्व गर्न लायक फिल्म चाहिँ बनाएको छु । फिल्म मनोरञ्जनको माध्यम हो । तर, हामीहरू जस्तो मान्छेले समाजलाई केही सन्देश पनि दिनुपर्छ जस्तो लाग्छ । फिल्ममा मैले त्यही कोशिश गरेको छु । फिल्म हेरेर हलबाट निस्कँदा एकपटक मान्छेहरू सोच्न बाध्य हुनेछन् ।’
अभिनेता आकाश श्रेष्ठले सरोज खनाल जस्तो कलाकारको निर्देशनमा काम गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताए । फिल्ममा भूमिका सानो भएपनि प्रभावकारी रहेको उनको भनाई छ । त्यस्तै, नव अभिनेत्री कार्कीले मुर्धन्य कलाकारहरुसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् । फिल्मका निर्माता सुरेश वाग्लेले कथावस्तुले मन छोएपछि लगानी गर्न तयार भएको बताए । फिल्मले उठाएको विषयवस्तुले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने उनको विश्वास छ ।फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि।एफ।एक्स। तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । साउन्ड मिक्सिंग मुकेश शाह र ब्याकग्राउण्ड स्कोर द एक्स ब्याण्डका शिव मुखियाको रहेको छ ।
नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता अभिनेत्री करिश्मा मानन्धर हुन् । नेपालअघि नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।