जेठ २३, २०७९ सोमबार

काठमाडौं: 'आइसी डिजाइनर रनवे ११’ नामक फेसन सो आयोजना हुने भएको छ। विगतका वर्षझैँ यस वर्ष पनि आइसी कलेजले फेसन सो आयोजना गर्न लागेको हो।

सोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ। नेक्स्ट मोडल्स नेपालले सोका लागि मोडलको आवेदनसमेत खुल्ला गरेको छ। कम्तीमा ५ फिट ६ इन्च उचाइ भएका महिला मोडलले आवेदन दिन सक्नेछन्। छनोट आगामी ११ जुन अर्थात् जेठ २८ गते शनिबार हुनेछ।

फेसन सोमा ६ पुरुष र २४ महिला गरेर ३० मोडलले आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्‍याम्पमा प्रस्तुत गर्नेछन्। फेसन डिजाइनर नै आइसी कलेजका १९ औं ब्याजका पास आउट विद्यार्थी हुन्।

विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन सो यस वर्ष विगतका भन्दा उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेन्टको जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए।

'आइसी डिजाइनर रनवे’ को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन्।

फेसन सोको लागि अन्तर्राष्ट्रिय कोरियोग्राफर अभिमन्यु सिंह तोमरसमेत नेपाल आउने आयोजकले जनाएको छ।