हल प्रदर्शनमा असफल भएको फिल्म हो, ‘डाँडाको वरपीपल’ ।
गत वर्षको असोजमा प्रदर्शनमा आएको फिल्म हेर्न हलमा दर्शकको खडेरी परेको थियो । तर, हलमा असफल यस फिल्मको सिक्वेल निर्माण हुने भएको छ । निर्देशक शोभित बस्नेतले ‘डाँडाको वरपीपल २’ निर्माण गर्ने घोषणा गरेका छन् । ‘फिल्मको लागि तयारीमा लाग्न थालिसकेका छौं,’ बस्नेतले भने ।
नेपालमा प्रायः हलमा सफल भएका फिल्मको मात्र सिक्वेल निर्माण हुँदै आएका छन् । तर शोभितले हलमा असफल भएको फिल्मको सिक्वेल बनाउने सोँच किन बनाए ?
‘हलमा कमजोर देखिएपनि फिल्मले युट्युबमा निकै राम्रो भ्युज पाएको छ । अपलोड भएको १८ घण्टामा फिल्म ट्रेन्डिङको पहिलो नम्बरमा आयो । युट्युबमा प्रतिक्रियाहरु समेत शत प्रतिशत प्रतिक्रिया राम्रो आएको छ’ शोभितले लोकान्तरसँग भने, ‘सोही कारण नै सिक्वेल बनाउने सोँचमा पुगेका हौं ।’
उसो त सिक्वेल बनाउने सोँचका साथ नै ‘डाँडाको वरपीपल’को छायाँकन प्रारम्भ गरिएको थियो । कलाकारहरुसँग सोही अनुसार कुरा पनि भएको शोभित बताउँछन् ।
‘तर, रिलिजका बेला विभिन्न घटना, परिघटनाहरु भए । हल पनि कोरोनापछि भर्खरै खुलेको थियो । सोही कारण हामी धेरै दर्शकसम्म पुग्न सकेनौं । हलमा राम्रो दर्शक नआउनुभएपनि ठिकै छ दोस्रो पार्ट नगर्ने भनेर बसेका थियौं’ बस्नेतले भने, ‘तर अहिले युट्युबमा रिलिज भएपछि निकै राम्रो प्रतिक्रिया आएका छन् । सोही कारण सिक्वेल बनाउने निर्णय लिएका हौं ।’
उसो त युट्युबमा प्रायः जसो फिल्मले राम्रो भ्युज पाउने गरेका छन् । तर, प्रतिक्रिया भने सबैको शतप्रतिशत राम्रो नआउने बस्नेत बताउँछन् । भ्युज भन्दा पनि राम्रो प्रतिक्रियाका कारण सिक्वेल बनाउन लागेको उनी बताउँछन् । सिक्वेलमा यसअघिकै कथालाई निरन्तरता दिने बस्नेतले बताए ।
‘डाँडाको वरपीपल’मा सलोन बस्नेत, रुबिना थापा, शिव श्रेष्ठ, गौरी मल्ल लगायतको मुख्य भूमिका छ । सिक्वेलमा पनि उनीहरु नै रहने यद्यपी टुंगो भने लागिनसकेको निर्देशक बस्नेतले बताए । ‘अरु दिमागमा हुनुहुन्न । उहाँहरु चार जनासँग नै एकचरण कुरा गर्दैछौं । त्यसपछि मात्र अरु कलाकारहरु तय हुन्छ’ उनले भने । फिल्मको निर्मातामा भने बुढासुब्बा मुभिजनै हुने बस्नेतको भनाइ छ ।
‘डाँडाको वरपीपल’गत शनिबार युट्युबमा सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको दोस्रो दिनदेखि नै फिल्म ट्रेन्डिङको शीर्षस्थानमा रहिरहेको छ । फिल्मले लोभलाग्दो भ्युज पाएको छ ।