काठमाडौं । काठमाडौंस्थित किंग्स कलेजले ‘त्रयम्’ शिर्षकको नाटक मञ्चन आज (बिहीबार) सम्पन्न गरेको छ । विद्यार्थीमार्फत सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यले कलेजले शिल्पी थियटरमा ‘त्रयम’ नामको नाटक मन्चन प्रदर्शन गरेको हो ।
जेठ महिनाको २० गतेदेखि प्रदर्शनीमा रहेको उक्त नाटक विद्यार्थी, शिक्षक, अभिभावक, सामाजिक तथा लैगिक विषयमा रुचि राख्ने सबैका लागि सान्दर्भिक रहेको कलेजले दाबी गरेको छ ।
कलेजका विद्यार्थीले अभिनय गरेको यस नाटकले आलंकारिक रूपमा भूत, वर्तमान र भविष्यका साथै बिहानी, दिवा र साँझगरी तीन–तीनवटै चरणलाई प्रतिनिधित्व हुनेगरी महिलाको आवाजलाई उजागर गरेको छ । हाल नेपालमा देखिएको महिलाका समस्यामा परिवर्तन ल्याउन नाटकले जोड दिएको छ ।
व्यवसायिक नाट्य कलाकार एवं निर्देशक दिलिप रानाभाटले निर्देशन गरेको यस नाटकमार्फत ब्यापार एवं उद्यमशीलताको क्षेत्रमा श्रृजनशीलता, साहित्य तथा नविनताका अवयवहरुलाई कसरी मिश्रण गर्न सकिन्छ भनेर प्रयोगात्मक ढंगबाट परीक्षण गर्ने अवधारणालाई अगाडी सारिएको नाटक संयोजक दिक्षिक भट्टले जानकारी दिएका छन् ।
कलेजले यसै वर्षदेखि संचालनमा ल्याएको बीबीए इन अप्लाईड आर्ट एण्ड डिजाइन कार्यक्रमको प्रयोगात्मक हिस्साको रुपमा समेत यस नाटक प्रदर्शनीलाई लिन सकिने जनाइएको छ । कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले विद्यार्थीको व्यवसायिक जीवन सफल बनाउन सघाउ पुर्याउने उद्देश्यले बीबीए इन अप्लाईड आर्ट एण्ड डिजाइन कार्यक्रम संचालनमा ल्याइएको जनाएका छन् ।
‘हामीले सुरुमा यसै नाटकलाई मोड्युलको रुपमा बीबीए इन अप्लाईड आर्ट एण्ड डिजाइनका विद्यार्थीहरुलाई अध्ययन गरायौं। त्यसपछि सोही नाटकको मञ्चन गराइ विद्यार्थीहरुमा कलाप्रति अभिरुची जगाउने प्रयास गरेका छौं ’, प्रधानाध्यापक अर्यालले जानकारी दिए । किंग्स कलेज उद्यमशीलता तथा व्यापार शिक्षामा अग्रणी शैक्षिक संस्थाहरुमध्येको एक मानिन्छ ।