जेठ २७, २०७९ शुक्रबार

विनिर्माण
--------------------------------

सतिदेविको अंग पतन भए झैं -
मेरो चेतना पतन भएको छ !

प्राग् - पशु -
डाइनोसर लोप भए झैं -
मेरो प्रेम लोप भएको छ !

म कतै जर्जर लिंगबाट झरेको छु
कतै भग्न योनीबाट खसेको छु 
म निरन्तर स्खलित भएको छु !

मेरो आत्म - स्थापनाको अब कुनै गुन्जायस छैन
म कतै टुक्रिएको छु 
कतै चोइटिएको छु ।

- म बारम्बार खण्डित भएको छु !

मेरो मस्तिष्कभित्र कुनै विचार छैन 
मेरो हृदयभित्र कुनै स्पन्दन छैन।

- मेरो आँखामा कुनै सजिव चित्र छैन
- मेरो पाइतालामा कुनै सग्लो यात्रा छैन ।

मसँग केहि स्मृतिहरु छन् -
तर / ती मृत: छन् !

मसँग केहि आँसुहरु छन् 
तर / ती जमेका छन् !

- अब मसँग आकाशजस्तै फराकिलो आकाश छैन
- अब मसँग धर्तीजस्तै विशाल धर्ती छैन !

थाहा छैन -
कुन डाँकू समयले उजाड बनाएर गयो -
मेरो शिशु बस्ती ?

थाहा छैन -
कसले हरण गर्यो -
मेरो भावना र - संवेदना -
कसले नष्ट गर्यो मेरो चञ्चलता र / गतिशीलता ?

थाहा छैन -
निर्जीव जड् शालिक झैं -
जिवनको उदास स्मारकमा कसले गाडेर गयो मलाई ?

थाहा छैन -
एउटा सद्दे मान्छेबाट -
कसले गर्‍यो मलाई विनिर्माण ?

-- मौन आवाज