जेठ २८, २०७९ शनिबार

मौन आवाजको कविता

कागतीको बोटमुनि एउटा अमिलो छाँया खस्दथ्यो

-----------------------------------------------------------------

प्रत्येक पाइताला जब भासिन्छ -
बाटो भत्किन्छ र / यात्रा खाल्डोमा परिणत हुन्छ !

फगत जून र / ताराहरू मात्रै सकिँदैन आकाशबाट
केही मृत यादहरू पनि सकिन्छ ।

धर्तीबाट उठेर आएका आशाका सुगन्धहरू - जम्छ 
बादलमा ठोकिन्छ / चकनाचुर हुन्छ 
र / वर्षात्‌मा परिणत हुन्छ ।

वर्षा - अग्निमा परिणत हुन्छ
तप्त अग्नि आइमाईमा परिणत हुन्छ ।

एउटा अनौठो आँधी उठ्छ 
एउटा अनियन्त्रित उत्तेजना बग्छ ।

जल्छ - खरानी हुन्छ र / सकिन्छ ।

कसैले अनुमान लगाउन सकेको छैन
किन यस्तो हुन्छ ?

हुन त प्रत्येक आइमाईहरू विवाहपछि 
यस्तै हुने गर्छन् - 
कतै स्मृतिमा छुटेकी उदास बच्ची जस्तै !

छिया-छिया तिनको हृदयमा कुनै उत्सव बाँकी रहँदैन ।

घाउ - पीप र पीडाले भरिएकी आइमाई
कल्पना गर्नुस् -
कस्ती देखिन्छे ?

सत्यहरू यही प्रमाणित गर्छन् -
प्रत्येक वर्ष कुनै न कुनै दिन
फेरि बिहान हुनेछ
यो सोचेर सुतेकी आइमाई कहिल्यै उठ्दिनन् !

अब त म पनि छिटो छिटो हुर्किँदै गइरहेकी छु ।

समय कति तीव्र गतिमा अगाडि बढ्छ 
नछुट्नुपर्ने धेरै कुरा पछाडि छुट्छ ।

आमा छुटेजस्तै -
आँसुको एक ढिक्का कतै छुट्छ !

अतित अस्तित्वको विशाल पाठेघर हो 
आइमाईरू सायद त्यतै मृत पुरिएका छन् !

सम्भवतः
म पुरिने ठाउँ पनि अन्तत: यतै हुनुपर्दछ ।

- यतै कतै खाल्डोमा !

जहाँ म सानी छँदा -
कागतीको बोटमुनि मसँगै एउटा अमिलो छायाँ खस्दथ्यो !