"ठीक जति सबै ठीक छ छोरी, डु नट वोरी !" जेठी छोरी अपराजिता सन्तोषीले हालखबर जान्न चाहेपछि प्रोफेसर शान्तिनारायण बिद्रोही आनन्दले आफ्नो नयाँ शैलीको उत्तर दियो।
"बा, कस्तो कस्तो अभिनय गर्नुहुन्छ,अभिव्यक्ति शैली पनि अनौठो ! हरेक कुरालाई सामान्य रूपमा लिनुहुन्छ। यस धरतीमा हजुरलाई बुझ्ने म र मलाई बुझ्ने हजुरबाहेक अरू कोही होला र ? ठीक जति सबै ठीक, कति मीठो !"
"छोरी, यो झूट छ नि झूट, यसको पनि आफ्नै सौन्दर्य रहेछ ! मान्छेले जीवनमा बढी झूट बोल्ने रहेछ या अभिनय । अभिनय पनि त एक प्रकारको झूट नै हो। म कम झूट बोल्ने भनेर कसम खाएको मान्छे ! नहुने रहेछ ! अरूलाई तनाव हुने सत्य किन बोल्ने ? मानौँ, मैले एक मित्रलाई गैरमहिलासित कतै अलि बेग्लै अवस्थामा देखेँ, अहिलेको भाषामा लजमा । अब म बोल्न हुन्छ? उसकी श्रीमती मेरी साथी हुन् भनेर सूचना दिन हुन्छ? झूट अपरिहार्य भएन ?
सत्यभन्दा झूट बढी सुन्दर पनि हुनसक्छ । प्रकृति हेरेर, छोरी, यो "आई एम फाइन " छ नि ! यो सन्सारभरि बोलिने सबैभन्दा बढी "सुपर हिट" झूट हो। म सधैं सत्य बोल्छु भन्नु पनि हिमालयन झूट हो।
सबै ठीक कसैको जीवनमा पनि हुन्न। न गरीबको, न धनीको! अझ छोरी, धनीहरू बढी झूट बोल्न विवश! म तिमीसित झूट बोल्न सक्दिनँ र यो भनेर उम्किन्छु । मेरो मनको कुरा तिमीलाई थाहा छ, तिम्रो मनको कुरा मलाई थाहा छ । म अन्याय गर्दिनँ ,अन्याय सहन्नँ, प्रतिकार गर्छु, मेरो यही परिवर्तन नहुने बानी मेरा/हाम्रा सन्तानहरूलाई मात्र होइन स्थायी शुभचिन्तकहरूलाई पनि अलि असजिलो लाग्छ।
अस्ति एक आदरणीय दाजी, उज्याला साथी, आलोकनारायण मिठूले पनि यस्तै पीर व्यक्त गर्नुभयो। केही छैन छोरी । म क्रिया होइन, प्रतिक्रिया गर्ने पात्र । विवेकको शरणमा जान्छु। मलाई चिन्नेहरूले चिन्नुहुन्छ। मेरो सद्भाव र इमान यहाँसम्मको सज्जनता खेर जान्न । खेर गएको छैन। म ढुक्क छु। आफैँमाथि भरोसा छ। गीत गाउने मान्छे, आफ्नो पीर व्यवस्थापनमा अक्सर सफल हुन्छ। "
----
"आहा ! बा, आज फेरि शिवानीलाई सुन्नेछु। म पनि ढुक्क छु बा। यता पनि ठिक जति सबै ठीक छ। हजुर मेरो मेन्टर/बा/साथी । आँखा बन्द गरेपछि मनभरि हजुरको छवि खोइ त आमा? एक पटक आमासित पनि बोल्न पाए हुन्थ्यो। आई एम फाइन बा!"
"हा.. हा.. हा.... ! फेरि उही झूट - आई एम फाइन !
अब यसलाई सत्य बनाउने, भित्रबाटै खुशी रहन कोशिश गर्ने छोरी ! आई एम रियल्ली फाइन । आखिर जीवन भनेको " Equilibrium under disequilibrium " न हो। सम्झौता गमोँ से करलो !"
" हुन्छ बा हुन्छ ! आजलाई सायोनारा !" "आशीर्वाद पुत्री ! " प्रोफेसर नातिनी लिएर स्कूल गयो। ----
✍️ धनराज गिरीको लघुकथा ।