काठमाडौं: जिल्ला प्रहरी परिसर, काठमाडौंले आठ वर्षअघि आयोजित सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीलाई झुक्याएर मनोज पाण्डेले जबरजस्ती करणी गरेको निष्कर्ष निकालेको छ।
करकापमा पारेर नियन्त्रणमा लिएर जबरजस्ती करणी गरेको निष्कर्षसहित प्रहरीले सौन्दर्य प्रतियोगताका सञ्चालक मनोज पाण्डेविरुद्ध अनुसन्धान पूरा गरेको छ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले मानवबेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको कसुरमा अनुसन्धान सकेर प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको जानकारी दिए।
उनले भने, ‘प्रतिवेदनमाथि अध्ययन गरिरहेका छौं, भोलिपर्सि अदालतमा लैजान्छौं।’
यो घटनामा पाण्डेले पीडितलाई नशालु पदार्थ खुवाएर कब्जामा लिएर विभिन्न ठाउँमा जबरजस्ती करणी गरेकाले मानव बेचबिखन तथा ओसारपसार ठहरिने प्रहरी प्रतिवेदनमा उल्लेख छ। प्रहरीले प्रमाणका रूपमा पीडितले सार्वजनिक गरेको भिडियो बयान र केही साक्षीको बयानलाई आधार मानेको बताएको छ।
जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धानका लागि हदम्याद बाधक भएपछि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। पछि पाण्डेबाट पीडित भएको भन्दै अर्की एकजना नाबालिगले पनि बाल यौन दुर्व्यवहारको जाहेरी दिएकी थिइन्।
मानवबेचबिखनको कसुरमा ११ वर्ष र बालयौन दुर्व्यवहारको कसुरमा तीन वर्ष गरी १४ वर्ष जेल सजाय प्रहरीले आफ्नो प्रतिवेदनमा माग दाबी गरेको छ। पीडित युवतीले भिडियो बयानमा प्रतियोगिता सकिएपछि उनलाई पाण्डेले बानेश्वरस्थित एभरेष्ट होटलमा बोलाएर नशालु पदार्थ मिसाएको चिया खुवाई जबरजस्ती करणी गरेको बताएकी थिइन्। होश खुल्दा आफू नग्न अवस्थामा रहेको उनले बताएकी थिइन्।