असार १, २०७९ बुधबार

काठमाडौं: गत वर्ष पुस र फागुनमा प्रदर्शनमा आएको नेपाली फिल्म 'चपली हाइट ३' पुनः प्रदर्शन हुने भएको छ। कोरोनाको तेस्रो लहरका कारण तीन दिन मात्र प्रदर्शन हुन पाएको थियो। 

पुस अन्तिममा प्रदर्शन थालेलगत्तै कोरोनाको तेस्रो लहर शुरु भएपछि एक महिना सबै फिल्म हल बन्द भएका थिए। हल खुलेपछि फागुनमा प्रदर्शनमा आएको फिल्ममा दर्शकको उपस्थिति भने न्यून थियो। कोरोनाका कारण धेरै दर्शकले फिल्म हेर्न नपाएको भन्दै निर्माण टोली फिल्म पुनः प्रदर्शन गर्ने तयारीमा जुटेको हो। कहिलेदेखि प्रदर्शनमा आउने भन्नेबारे छलफल भइरहेको छ। 

साथै आगामी जुलाईमा फिल्म अमेरिकाको न्युयोर्कमा फिल्म प्रदर्शन हुँदैछ। न्युयोर्कमा रहेको बम्बे थिएटरमा जुलाई १० मा फिल्म प्रदर्शन हुन लागेको हो। 

अर्जुन कुमारको निर्माणमा बनेको फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन्। फिल्ममा स्वस्तिमा खड्का, महेश त्रिपाठी, आमिर गौतम, सुपुष्पा भट्टलगायत कलाकारको मुख्य भूमिका रहेको छ।