सुन्दरी प्रतियोगितामा भएको यौन शोषण प्रकरणमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफू पनि उक्त समयमा मानसिक तनावमा रहेको बयान दिएकी छिन् । उक्त घटनाका सम्बन्धमा बुझिएकी माल्भिका सुब्बाले प्रहरीसँगको बयानमा आफू पनि उक्त समयमा मानसिक तनावमा रहेको बताएकी हुन् ।
साथै सक्सेस पार्टीका सन्दर्भमा माल्भिका र पीडित भनिएकी युवतीको बयान बाझिएको छ । पीडित युवतीले आफू करिब २ बजे एभरेष्ट होटलमा पुगेको र आफू लेमोनेट खाएपछि अचेत भएको र भोलिपल्ट बिहान ५ बजे होस् खुल्दा आफूमाथि बलात्कार भइरहेको पाएको बयान दिएकी थिइन् ।
तर पीडित भनिएकी युवतीको बयानलाई खण्डन गर्ने गरी पूर्व मिस नेपाल तथा उक्त सौन्दर्य प्रतियोगिताकी कोरियोग्राफर माल्भिका सुब्बाले पीडित भनिएकी युवती सक्सेस पार्टीमा रहेको बयान दिएकी छिन् । माल्भिकाले उक्त सक्सेस पार्टीमा पीडित भनिएकी युवती पनि रहेको र सक्सेस पार्टी सकिएको करिब ३ महिनापछि मात्रै आफूलाई युवतीले फोन गरेको तर उक्त समयमा पीडित युवतीसँग कुराकानी गर्ने माहोल नमिलेको र पीडितले उनी कसरी पीडित भइन् भनेर नभनेको बयान दिएकी छिन् ।