असार ४, २०७९ शनिबार

मौन आवाजको कविता

उत्खनन् 
-----------------------------------------------------------

- मेरा अस्तित्वका अंशहरू !

उडिरहेको पुतलीको आँखाले संसार हेर्नू 
खुशी हुनू !

हरियो पातमा लेख्नु आफ्ना रहरहरू
आमालाई माया गर्नू !

घामसँगै उठ्नू
जीवनका होमवर्कहरू राम्रोसँग गर्नू !

कहिलेकाहीँ बहिनीहरूलाई काखमा लिनू
कोरिबाटी गरिदिनू
बेलाबेला गमलामा पानी हाल्नू
आफैसँग हुर्काउनु कलिला मुनाहरू !

वर्षात्‌मा धेरै टाढा ननिस्कनू
आँगनमा घाँस उम्रेला 
निस्केला छिमेकीको बारीबाट बिषालु सर्पहरू !

कहिलेकाहीँ
मिलाएर यात्रा गर्नू
अन्धकारदेखि भयभीत नहुनू
 नआत्तिनू - जहाँ साँझपर्छ त्यहीँ घर हो !

अर्काको अनुहारमा आफूलाई खोज्ने भुल नगर्नू
अर्काको हाँसो नचोर्नू  !

सबै परिबन्धहरू सामान्य हुँदैनन् 
पहाड जस्ता जटिलताहरू बाटोमा छन् 
हिँड्न नछाड्नू !

आफूतिर आइरहेको बतासलाई म सम्झनू
हिँडिरहेको बाटोलाई म सम्झनू 
शून्य आकाश र अदृश्य वायुमण्डललाई म सम्झनू 
स्मृति एक दुर्लभ सम्पदा हो
मलाई केवल सम्झनाहरूमा सम्झनू !

- मेरा वंशजहरू !

मेरो पाइताला पछ्याउँदै नभौँतारिनू
मेरो हड्डी खोज्दै नहिँड्नू
मेरो खप्परको अनुसन्धानमा समय खेर नफाल्नू
कृपया - मेरो उत्खनन् नगर्नू  !

समयले समयलाई खोज्दै हिँड्यो भने
इतिहासले इतिहासलाई खोज्दै हिँड्यो भने 
बाटोले बाटोलाई खोज्दै हिँड्यो भने 
रहस्यले रहस्यलाई खोज्दै हिंड्यो भने 
के हुन्छ ?

यो धर्तीमा
बारम्बार कुहिएर
झोल हुँदै 
लेदो हुँदै
जुन पदार्थमा परिणत भएँ म

अहिले त्यहाँ 
फुलेको छ एउटा गुमनाम फूल !

जो फेरि झर्नेछ 
र फेरि कुहिनेछ
.....फेरि फुल्नेछ ।

त्यसैले मेरो उत्खनन् नगर्नू !