स्वास्थ्य राज्यमन्त्री बिमला वलीमाथि छानबिन गर्न दाङ आएको लुम्बिनी प्रदेश सरकारले गठन गरेको कार्यदलले घटनाबारे सरोकारवालाहरूसँग आवश्यक जानकारी लिएको छ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले आफूहरू तुलसीपुरमा आएर घटनाबारे पीडित पक्ष र प्रहरी अधिकारीसँग सोधपुछ र छलफल गरेको बताए।
घटनाबारे सत्यतथ्य अध्ययन गर्न उक्त टोली मंगलबार दाङ आएको थियो।
समय सीमाभित्रै घटनाबारे प्रदेश सरकारलाई प्रतिवेदन बुझाउने उनले बताए।
गत जेठ ३१ गते बिहान लुम्बिनीकी स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री वली तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित बसपार्क नजिकैको एकराज बस्नेतको घरमा पुगेर एकराजकी श्रीमती मीना भण्डारी र छोरीलाई कुटपिट गरेर दराजलगायत सामग्रीमा क्षति पुर्याएको भन्दै उजुरीसमेत दिएकी थिइन्।
यो घटनापछि गत असार १ गते बसेको मन्त्रिपरिषद बैठकले सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो।