वीरगन्ज : अधिकांश सामुदायिक विद्यालयहरूमा दिवा खाजा गुणस्तरहीन भएको तथा आधाकाचो खाने कुरा बालबालिकाहरूलाई खुवाउने गरिएको अभिभावकहरूले गुनासो गरेका छन्।
विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गराउनुका साथै उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि पर्याप्त कार्बोहाइड्रेट, प्रोटिन, फ्याट तथा शरीरलाई चाहिने विभिन्न पोषक तत्त्व मिलाएर खाजा दिने व्यवस्था मिलाउन हरेक सामुदायिक विधालयमा दिवा खाजाको व्यवस्था गरिएको हो।
तर विद्यालयहरूले भने नपाकेको खानेकुरा, त्यो पनि चाहिने जति नदिइने गरेका कारण नामका लागि मात्रै दिवा खाजा भएको कारण बालबालिकाहरू खाजाखान टिफिनका बेला घरमै आउने गरेको अभिभावहरू बताउँछन्।
पर्साकी अभिभावक सुनैना देवी गुनासो पोख्दै भन्छिन्, ‘गरिबका बालबालिकालाई विद्यालयमा टिकाउन सरकारले दिवा खाजाको व्यवस्था त गर्यो तर हाम्रा बालबालिकालाइ विधालयले कस्तो खालको खाजा खुवाउँदै छ भन्ने निगरानी नै छैन, जसका कारण शिक्षकहरुले मनोमानी गरिरहेका छन्।’
उनी थप्छिन्,‘कहिले अध्कच्चो त कहिले खाजा नै नभेटीने, कहिले आधा पेट खाजा मात्रै दिन्छन्, त्यहि भएर बालबालिकाहरु खाजा खान घर आईपुग्छन्, नामको लागि मात्रै खाजाको व्यवस्था गरेको जस्तो देखिन्छ, फाइदा त विद्यालयलाई होला हाम्रो बालबालिकालाई त छैन।’