असार १७, २०७९ शुक्रबार

कञ्चनपुर । जिल्लाको शुक्लाफाँटा नगरपालिकाले नगरभित्रका सबै विद्यालयहरूमा बर्खे बिदा दिने भनी गरेको निर्णयलाई संस्थागत विद्यालयहरूले नमान्ने भएका  छन् । बिहीवार नगरपालिकाले गरेको उक्त निर्णय यहाँका संस्थागत विद्यालयहरूले नमान्ने भएकाे प्याब्सन शुक्लाफाँटाका सचिव डिपी अवस्थीले बताए ।

संस्थागत विद्यालयका प्रतिनिधिहरूले विद्यालय बन्द नगर्ने भनी नगरको बैठकमा नै जानकारी गराएको उनले बताए । "हाम्रो पढाइ सुरु भएको नै एक महिना पुगेको छैन" प्याब्सन नगर सचिव जोशीले भने "बैठकमा नै संस्थागत विद्यालयहरू बन्द हुने छैनन् भनेको थियौँ, त्यसकारण संस्थागत विद्यालय बन्द गर्दैनौँ ।" बैठकमा सामुदायिक विद्यालय बन्द गर्ने र संस्थागत विद्यालय सुचारु हुन दिने निर्णय भएको उनले दाबी गरेका छन् । "नगर प्रमुखज्यूले ठिक छ त्यसो भए तपाईँहरू विद्यालय सुचारु गर्नुस् भन्नुभएको थियो ।" उनले भने । अहिले विद्यालय बन्द गर्नुपर्ने प्रतिकुल मौसम नभएको भन्दै उनले संस्थागत विद्यालयहरू सुचारु नै रहने उनले जानकारी दिए । आवश्यकताअनुसार विद्यालयहरू बन्द गरिने उनले बताए । यस्तै एन प्याब्सनका सल्लाहकार डिडी अवस्थीले संस्थागत विद्यालयहरूले प्रथम त्रैमासिक परीक्षा सञ्चालन गरिसकेपछि विद्यालयहरू बन्द गर्ने निर्णय भएको बताए । "संस्थागत विद्यालयहरुको त्रैमासिक परीक्षा सञ्चालन भएपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो, त्यसकारण साउनको १४ /१५ गतेबाट संस्थागत विद्यालयहरु बन्द हुन्छन् ।" उनले भने । भर्खरै विद्यालयहरू सञ्चालन भएको बताउँदै एन प्याब्सन सल्लाहकार अवस्थीले बर्खा लागेको सुरुमा नै विद्यालयहरूमा बिदा दिइनु उचित नहुने जानकारी दिए । अवस्थीले बर्खाले विद्यायल सुचारु गर्न नसकिने अवस्था भए विद्यालयहरू बन्द गर्न सकिने समेत बताए । संस्थागत विद्यालयहरूमा अहिले बिदा दिइँदा विद्यार्थीहरू मारमा पर्ने अवस्थीले बताए । शैक्षिक क्यालेण्डर निर्माण गर्दा पनि आफुहरूसँग आवश्यक समन्वय नभएको अवस्थीले बताए । यता शुक्लाफाँटा नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण भट्टले सामुदायिक र संस्थागत दुइटै विद्यालयहरूमा बर्खे बिदा दिइने निर्णय भएको बताए । "सामुदायिक र संस्थागत दुइटै विद्यालयहरूमा बर्खे बिदा दिने निर्णय भएको छ" शिक्षा शाखा प्रमुख भट्टले भने, "संस्थागत विद्यालयहरूले निर्णय कार्यान्वयन गर्नुपर्छ, त्यसको विकल्प छैन ।" नगरले बिहीवार एक सूचना जारी गर्दै असार १९ गतेदेखि श्रावण १० गतेसम्म नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरूमा बर्खे बिदा दिने निर्णय गरेको छ ।