असार १९, २०७९ आइतबार

● प्रल्हाद गिरी

राजनीतिक रूपमा अझै पनि विकसित लोकतान्त्रिक अभ्यास नभएको मुलुकमा धेरै दलहरू हुँदा मत बाझिने र सहमति हुन नसक्ने हुन्छ । तर नेपालमा भने अनुकुल राजनीतिक तथा सामाजिक वातावरणले आर्थिक क्रियाकलापहरू चलायमान हुँदै गएका छन् । यो वर्षको शुरुदेखिकै सक्रिय मनसून, निर्बाध विद्युत आपूर्ति, पुनरसंरचनाको कार्यमा तीव्र प्रगति आदिले आर्थिक स्थितिलाई मजबूती तर्फ अगाडि बढाएको देखिन्छ । यद्यपि, यसको निरन्तरतामा भने अझै ठूलो कोसे ढुंगा पार गर्नुपर्ने देखिन्छ ।
 
जनकपुर क्षेत्र ठूलो सम्भावना बोकेको क्षेत्र हो । मधेश प्रदेशको राजधानी रहेको यस क्षेत्रमा उपलब्ध साधन र श्रोतहरूको उच्चतम परिचालन गर्ने हो भने आर्थिक रूपमा कायापलट हुनसक्छ । तर, यहाँ भएको विगतको मधेश आन्दोलनले यहाँका जनतलाई आर्थिक समृद्धिभन्दा पनि आर्थिक अधोगतितिर धकेलेको थियो । कोरोनो महामारी त विश्वव्यापी महामारीको एउटा श्रृंखला थियो । तर, साम्प्रदायिक रुपमा मधेशी पहाडीको आपसी खिँचातानीले गर्दा विकास र पूर्वाधार निर्माणमा यो क्षेत्र नराम्ररी प्रभावित भयो । वास्तवमा मेलमिलापयुक्त सामाजिक व्यवहार र साँस्कृतिक सम्बन्धले मात्र कल्याणकारी सामाजिक–आर्थिक विकासलाई अँगाल्दछ ।  साम्प्रदायिक भडकाउनपन दलगत नेता तथा कार्यकर्ता तहमा रहे पनि आम नागरिक समाज अहिले पनि सबै वर्गलाई साथमा लिएर गएमात्र आर्थिक समृद्धि सुनिश्चित हुने कुरामा विश्वस्त छ । क्षणिक स्वार्थले ओतप्रोत भएका सत्ता लोलुपता अवसरवादीहरूले पहिचान र अधिकारको सवाललाई हतियार बनाएर सामाजिक सद्भाव बिथोल्ने प्रयास गर्दा आज जनकपुरले आफ्नो आर्थिक पछौटेपनको सामना गर्नुपरेको छ । बहुलवादी लोकतन्त्र, समतामूलक समाज, आर्थिक विकासको आडमा आन्दोलनमा होमिनेहरू आज आफ्नै पहिचान खोजिरहेका छन् । त्यस्तो पहिचान जसबाट समाज र क्षेत्रमा आफ्नो नाम कायम रहोस् । र, त्यो भनेकै आर्थिक रुपमा समुन्नत पहिचान हो । आन्दोलनले खल्बल्याएका सद्भावले उठ्नै नसक्ने गरी आर्थिक रूपले पछारिएकाहरूले अहिले ठूलो मौका छ । त्यो मौका भनेको उद्यमशीलता हो । उद्यमी बनेर आफू र आफ्नो परिवार आत्मनिर्भर बनाई जीवनशैलीमा कायापलट गर्ने र त्यसपछि देशलाई नै समृद्ध गराउने अहिले अवसर आएको छ । उद्यमशील बन्नका लागि अहिले सरकारले विभिन्न तवरले अनुदान तथा सहयोग गरिरहेको छ । त्यसपछि बैंक तथा वित्तीय संस्थाहरूले सहुलियत दरमा ऋण उपलब्ध गराउन तयार छन् । केवल आवश्यकता एउटा दृढ निश्चयको जसले आत्मनिर्भरतातर्फ उन्मुख हुनका लागि एउटा बाटो तय गरोस् ।
 
सद्भाव खल्बलिएका कारण चौपट भएको विकास र मौलाउँदो भ्रष्टाचारले जनतामा अझै निराशा व्याप्त छ । यस्तो निराशालाई निस्तेज पारी आर्थिक गतिशीलताका लागि अग्रसर गराउन स्थानीय निकाय र राजनैतिक दलहरूको क्रियाशीलता टड्कारो देखिएको छ । कुनै एक समुदायलाई विस्थापन गरी पहिचानमा आफू सर्वेसर्वे भएको झूटो भ्रममा बसेर लुकाएर लुक्नै नसक्ने बेहालको स्थिति सामना गर्नुपरेको छ । तसर्थ, सबै समुदायलाई साथमा लिई सबै समान भएको सन्देश प्रवाह गर्दा त्यसले समृद्धिको ढोका चाँडो खुल्ने र विकासको बाटोमा थप अग्रसर हुन सहायक हुने कुराको दुई मत हुनसक्तैन ।
 
जनकपुर क्षेत्रको आर्थिक स्थितिलाई नियाल्दा यहाँ सम्भावनाहरू प्रचुर रहेका छन् । खास गरी ऐतिहासिक जानकी मन्दिर रहेबाट पर्यटकीय नगरीको रूपमा प्रख्यात जनकपुरको आर्थिक समृद्धिका लागि पर्यटनको सेवा विस्तारका अनेकन् सम्भावनाहरू छन् । तर, कमजोर पूर्वाधार तथा नीतिगत अस्पष्टता र बजेटको दुरुपयोगका कारणले जनकपुरको पर्यटन व्यवसायले अपेक्षित गति लिन सकेको छैन । भर्खरै शुरु भएको रेलसेवाले यस क्षेत्रको पर्यटकीय विकासमा ठूलो योगदान गर्नसक्ने देखिन्छ । विगतमा पहिचान र अधिकारका लागि भएको मधेश आन्दोलनले ल्याएको साम्प्रदायिक विकृतिले जनकपुरलाई आर्थिक रूपले निकै पछि पारेको छ । पहाडे मूलका समुदायलाई नियोजित तवरले लक्षित गर्दै हुलहुज्जतमा रमाउने साम्प्रदायिक मनस्थिति भएका नेता तथा तिनका कार्यकर्ताले जनकपुरको आर्थिक गतिशीलतालाई अवरोध मात्रै गरेको छैन, बरु यसले स्थानीय जनताको सामाजिक–आर्थिक विकास र पारस्परिक अन्तरसम्बन्धमा ठूलो रिक्तता उत्पन्न गरेको छ ।
 
जनकपुर क्षेत्रमा बढी सम्भावना भएको क्षेत्रहरू दुग्ध व्यवसाय, कुखुरापालन, माछापालनका अलावा पर्यटन क्षेत्र नै हो । अहिले पनि जनकपुरमा दूध र कुखुराजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर छैन । त्यस्तै, माछाको खपत यहाँ बढी भए पनि अपेक्षा अनुसार माछा उत्पादन हुनसकेको छैन । माछा उत्पादनका लागि केही किसानहरू लागीपरेका खेती गरिरहेको भएता पनि तिनको व्यवसायिक गुजाराको क्षेत्र केवल जनकपुर, जलेश्वर या बर्दिबास क्षेत्र वरपर मात्र छ । तर, अहिलेको खाँचो भनेको जनकपुर क्षेत्रबाट बाहिर अर्थात् काठमाडौं, विराटनगर, वीरगञ्ज, पोखरासम्म यहाँको उत्पादन जाओस् भन्ने हिसाबले खेती गरिनुपर्ने हो । त्यसका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनीकीकरण आयोजना मार्फत् पकेट, ब्लक, सुपर जोन आदिको व्यवस्था गरेअनुरुप दिइएको अनुदान तथा सहुलियतका बारेमा व्यापक प्रचारप्रसार जनमानसमा हुनुपर्ने देखिन्छ । साथै जनकपुरको अपार पर्यटन क्षेत्रलाई व्यवसायिक रूप दिन पर्यटकीय स्थलहरूको पहिचान र प्रचार÷प्रसार, पर्यटकीयस्तरका होटलहरूको निर्माण, हवाई सेवाको संख्या बढाउनुजस्ता मुख्य सुधारका कार्यहरूको खाँचो देखिन्छ ।
 
कृषि क्षेत्रमा कृषि बालीहरूको उत्पादनमा आएको वृद्धिले समग्र वृद्धिदर अनुकुल बन्दै गएको छ । यस वर्ष धान र गहूँ उत्पादनमा आएको वृद्धिले कृषि क्षेत्र हौसिएको छ । यद्यपि, यस क्षेत्रका जोखिमहरू न्यूनीकरण गर्नेतर्फ भने कुनै रणनीतिक पाइला अझै प्रभावकारी रूपमा चाल्न सकिएको छैन । उपलब्ध वित्तीय साधन र श्रोतलाई उच्चतम परिचालन गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रम र अन्य प्राथमिकताप्राप्त क्षेत्रमा अनुदानका कार्यक्रमहरु पनि रहेका छन् जसबाट कृषि तथा पशुपालनमा लाग्न चाहनेहरूले सहुलियत दरमा ऋण लिन सक्नेछन् । यस अघि युवालाई कृषिमा कर्जा दिने रणनीति थियो जुन पूर्णतया सफल हुन सकेन । सहुलियतपूर्ण कर्जाको विद्यमान कार्यविधिमा युवाहरूको धितो र उमेरको हदबन्दीको समस्या छैन । कृषि तथा पशुपालन कर्जामा राज्यले अनुदान दिएको, बाली तथा पशुपालन बीमाको उपलब्धता पनि रहेकोले यसको फाइदा कृषक तथा व्यवसायीहरूले लिनसक्छन् । त्यसो त, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाहका लागि क्षेत्रीय स्तरमा गठन भएको वित्तीय क्षेत्र संयन्त्र पनि सक्रिय छ । यो संयन्त्र नेपाल राष्ट्र बैंकको संयोजकत्वमा जिल्लास्थित कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, कृषि सामग्री, कृषि औजार लगायतका सरोकारवालाहरूबीच गठित गरिएको छ । यसको मुख्य उद्देश्य पनि उत्पादनशील क्षेत्रमा कसरी कर्जालाई सुनिश्चित गर्ने भन्ने हो ।
 
नेपालको कृषि क्षेत्रको मुख्य समस्या भनेकै कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण तथा यान्त्रिकीकरण गर्न नसक्नु हो । यसका अलावा आधारभूत सिँचाईंको अभाव र मौसमी परनिर्भरता, कृषि सडकको कमी, अप्रतिस्पर्धी वस्तुको उत्पादन, न्यून गुणस्तर, उचित भण्डारण तथा बजारीकरण नहुनु, भूमिको न्यायपूर्ण वितरण हुन नसक्नु, कृषि कर्जा अपेक्षित तवरले प्रवाह हुन नसक्नु आदि रहेका छन् । जनकपुर क्षेत्रमा कृषि क्षेत्रले गर्न नसकेका समस्याहरू मुख्य रुपमा यिनै भएता पनि मुख्यतः सडक पूर्वाधारको अवस्था, ग्रामीण भेगका जनताको वित्तीय चेतनाको अभाव आदि मुख्य छन् । विदेशबाट आएको रेमिटेन्सको उपयोग यहाँ उत्पादनशील क्षेत्रमा लगानी गर्नुको सट्टा घरजग्गा खरीद, व्यक्तिगत रूपमा ब्याजमा पैसा लगाउने, सुनचाँदी खरिद गर्ने, सवारी साधन खरीद गर्ने लगायतका कार्यमा प्रयोग गर्ने देखिएको छ । यसका साथै, कृषि तथा व्यवसाय सञ्चालनका लागि लिएको कर्जाको पनि निकै दुरुपयोग हुने गरेको बैंकहरू बताउँछन् । कर्जा दुरुपयोगका मुख्य क्षेत्रहरू पनि घरजग्गा खरीद तथा व्यक्तिगत लेनदेन, बिहेवारी लगायतका घरेलु उपभोगमा खर्च भएको देखिएको छ । यस्ता विकृतिहरूलाई चिर्दै उत्पादनशील क्षेत्रमा सही रुपमा रकमको उपयोग गर्नका लागि वित्तीय जागरणको आवश्यकता देखिन्छ ।