असार १९, २०७९ आइतबार

काठमाडौं: स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धेरै कलाकार विभिन्न पार्टीमा प्रवेश गरे। नेपाली फिल्ममा महानायकको रूपमा चिनिने अभिनेता राजेश हमाललाई पनि तपाईंको समर्थन कुन पार्टीलाई? राजनीतिमा प्रवेश गर्ने बारे तपाईंको विचार के छ? भन्ने जस्ता प्रश्न सोधिने गर्थ्यो। राजेशले पनि कुनै समय आफू पनि राजनीतिमा प्रवेश गर्ने सम्भावना रहेको बताउँदै आएका थिए।

दुई दिनअघि राजेश प्रचण्ड निवासमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै देखिए। त्यसपछि राजेश माओवादी प्रवेश गर्न लागेको हल्ला चल्यो। केहीले यतिवेला रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा राजेशको पनि आँखा परेको र त्यसकै लागि लबिङ थालेको बताए भने केहीले राजेशलाई राजदूत बन्ने चाहना भएकाले शीर्ष नेताहरूसँग भेटघाट गरेको पनि बताए। 

राजेशले भने आफ्नो र माओवादी अध्यक्ष प्रचण्डबीचको भेट कुनै राजनीतिक उद्देश्य नभई सामान्य भेटघाट रहेको बताएका छन्। शनिबार एक कार्यक्रममा बोल्दै आफू माओवादी प्रवेश गर्न लागेको हल्लामा कुनै सत्यता नभएको बताएका हुन्। 

उनले भनेका छन्, "मैले प्रायजसो शीर्ष नेताहरूसँग भेटिसकेको छु। प्रचण्डजीसँग मेरो भेटघाट भएको थिएन। लामो समयदेखि भेट्ने इच्छा पनि थियो। संयोगवश हिजो जुर्‍यो‚ हामीले भेट्यौँ।"

"अहिले राष्ट्रको परिस्थिति, उहाँले हाँक्नुभएको राजनीति, वर्तमान राजनीतिक अवस्थामा उहाँले कस्तो खालको भूमिका खेलिरहनु भएको छ भन्ने जिज्ञासा मेरो थियोु" आफू राजनीतिमा प्रवेश गरिहाल्न नलागेको कुरामा जोड दिँदै उनले भनेका छन्, "उहाँलाई पनि ममा कत्तिको राजनीतिक चासो छ, मेरो राजनीतिक दृष्टिकोण के छ भन्ने चासो थियो। तिनै विषयमा कुराकानी भएको हो। म राजनीतिमा, कुनै पार्टी विशेषमा लागिहाल्न लागेको होइन।"

आफूले प्रचण्डलाई भेट्नुको एउटा कारण समयअनुसार बदलिँदै गएको नेपाली समाजको सोच, विचार, राष्ट्रमा आफ्नो भूमिकालाई हेर्ने दृष्टिकोणलाई शीर्ष नेताहरूले कसरी हेरिरहेका छन् भन्ने पनि रहेको उनले बताएका छन्। 

"पछिल्लो १५, २० वर्षमा नेपाली समुदायको सोच विचार, दृष्टिकोण, राष्ट्रमा आफ्नो भूमिकालाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन आइसकेको छ"‚ उनले भनेका छन्, 'हाम्रो देशमा १८ वर्षदेखि ४० वर्ष उमेर समूहको जनसंख्या एकदमै धेरै छ। नेताहरूले यो सबै कुरा मनन गर्नुपर्‍यो‚ सम्बोधन गर्न सक्नुपर्‍यो। विगतका सिद्धान्त र आइडियोलोजीमा मात्रै समय व्यतित गर्नु भएन। धरातलीय यथार्थलाई सम्झेर रोजगारका कुरा, शिक्षाका कुरा, स्वास्थ्यका कुरा, विकासका कुरा बढी आउनुपर्‍यो। उहाँहरूलाई हेर्दा कताकता उहाँहरू समयसापेक्ष नभएको हो कि जनसमुदायको दृष्टिकोण बदलिएर एकातिर गइरहेको छ उहाँहरूको सोच त्यहीँ अडिइराखेको हो कि जस्तो महसुस हुन्छ।'

आफूले नेताहरूसँग कहिल्यै केही नमागेको र नमाग्ने पनि उनले जनाएका छन्। साथै चलचित्र बोर्डको अध्यक्ष र राजदूतमा पनि अहिले आफ्नो रुचि नरहेको जिकिर गरेका छन्।