काठमाडौँ : बैतडीको सुर्नया गाउँपालिका-४ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडामा कक्षा ७ मा अध्ययनरत ३० जना विद्यार्थीमध्ये ११ जनाको हातमा मात्रै पुस्तक पुगेको छ । १९ जना विद्यार्थी रित्तो झोला लिएर विद्यालय आउँछन्। ‘कक्षा ७ को पाठ्यक्रम पनि बदलिएको छ, सबैको हातमा पुस्तक छैन।’ राष्ट्रिय मावि फाटीगडाका शिक्षक प्रकाश भाटले भने।
यसैगरी सुर्नया-४ कै पञ्चदेव आधारभूत विद्यालयमा पनि पाठ्यपुस्तक पुगेका छैनन्। कक्षा १ र २ बाहेकका सबै कक्षामा पुरा पाठ्यपुस्तक नपुगेको प्रद्यानाध्यापक केशव मडैले बताए।
कक्षा १ देखि १० सम्म नै आशिंक विद्यार्थीहरूको हातमा पुस्तक नपुगेको मेलौली-३ मा रहेको सुदर्शन माविका शिक्षक धनसिंह ठगुन्नाले बताए। ‘कक्षा ४, ७ र ९ को पाठ्यक्रम बदलिएको छ तर सबै पुस्तक पुगेका छैनन्’ उनले भने।
शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार जिल्लामा करिब २० देखि २५ प्रतिशत विद्यार्थीहरूको हातमा पुस्तक पुगेका छैनन्।
जेठ पहिलो सातादेखि नै पठनपाठन सुरु भएको थियो।
जिल्लामा कक्षा १ देखि १० सम्म ८३ हजार विद्यार्थीहरू अध्ययनरत छन्।