काठमाडौंः लाउरेको नामले चिनिने र्यापर आशिष रानाको नयाँ र्याप सार्वजनिक भएको छ। बिरामी बोलको उक्त र्याप लाउरेकै युट्युब च्यानलबाट मंगलबार सार्वजनिक भएको हो।
केही महिनाअघि ब्राउन सुगरको केसमा एक महिना जेल बसेका लाउरेले गीतमा पनि लागुपदार्थकै मुद्दालाई उठाएका छन्। लाउरेले गीतमा आफ्नो बाल्यकाल सम्झेका छन्, साथै कसरी लागुपदार्थमा फस्दै गए भन्ने कुरा पनि गीतमा खुलाएका छन्। लागुपदार्थ दुर्व्यसनीमा फस्नुलाई गीतमा बिरामी भएको बताइएको छ।
लाउरेले आफू चर्चामा आउनुअघि, लागुपदार्थ सेवन गर्नुअघि र पछिको आफ्नो बदलिएको स्वभाव, नाता सम्बन्धका बारेमा पनि बताएका छन्। उनले गीतमार्फत लागुपदार्थ दुर्व्यसनीमा नलाग्न अनुरोध पनि गरेका छन्।
रोहित शाक्यको निर्देशनमा बनेको भिडियोमा लाउरेसँगै उत्तम राई, सुभम बोहरा, सुजित संगीत लगायतका कलाकारको अभिनय रहेको छ। लाउरेका यसअघि सार्वजनिक भएका 'मेरो सोल्टा' 'हाउडे', 'बनावटी' 'लाउरे' लगायतका र्याप चर्चित छन्।