असार २३, २०७९ बिहिबार

सन् १९९४ मा जासुसीको आरोप लागेका भारतीय वैज्ञानिक डा। नम्बी​ नारायणनले आफूलाई निर्दोष सावित गर्न जिन्दगीको दुई दशकभन्दा बढी समय खर्चिनुपर्‍यो। इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (आइएसआरओ) का लागि नम्बी नारायणनको योगदान अमूल्य थियो। सन् १९७० मा उनको नेतृत्वमा आविष्कार भएको विकास इन्जिन आज पनि हरेक अन्तरिक्ष मिसनमा प्रयोग हुन्छ। 

नारायणमाथि जासुसीको आरोप लागेको घटनामाथि फिल्म बनाउने निर्णय लेखक तथा निर्देशक अनन्त महादेवनले सन् २०१२ मै गरेका थिए। जसमा नम्बी नारायणनको भूमिकामा मलयालम अभिनेता मोहनलाल देखिने भएका थिए। 

तर योजनाअनुसार काम हुन सकेन। फिल्मका निर्माताले बीचमै हात झिके, फिल्म बन्ने नबन्ने अन्योल बढ्दै गएपछि मुख्य भूमिकामा देखिने भनिएका मोहनलाल पनि बाहिरिए। त्यसपछि निर्देशकले आर माधवनलाई फिल्मको अफर गरे। 

फिल्मका लागि शुरुदेखि नै सहयोगीको भूमिका खेलेका माधवनमाथि पटकथा र मुख्य भूमिकाको जिम्मेवारी थपियो। उनी नारायणनसँग भेट्न थाले, पहिलेका घटना फेरि सुन्न थाले, नम्बीलाई अझ राम्रोसँग बुझ्दै गए। जसले गर्दा फिल्मले सन् १९९४ को घटनामा मात्र सीमित नरहेर नम्बीले आइएसआरओका लागि गरेको योगदान, त्यसबापत भोग्नु परेको सास्ती र झूटो आरोप सहित बाँच्नु परेको वर्तमान समय पनि समेट्ने भयो। त्यसै अनुसार फिल्मको पटकथामा पनि फेरबदल भयो। 

आफू पहिलोपटक नम्बीलाई भेट्न जाँदा कमजोर इच्छा सहित गएको माधवन बताउँछन्। 'एउटा जेम्स बोन्डको जस्तो एउटा सुन्दर रकेट्री सम्बन्धी फिल्म बनाउने आशमा म नम्बीलाई भेट्न गएको थिएँ। जसको अफेयर चलेको थियो माल्दिभियन महिलासँग, रकेट सिक्रेट बेचेको आरोप लाग्यो, जेल परे, मृत्युकै नजिक पुगे तर फेरि जेलबाट छुटे र आफूलाई निर्दोष सावित गरे। मलाई मन परेको कहानी यो थियो, जसमा फिल्म बनाउने सोचिरहेका थियौँ।'‚  उनले भनेका छन्, 'तर जब मैले उहाँलाई भेटेँ म छक्क परेँ। उहाँको तेज,  देशभक्ति एकदमै इम्प्याक्टफुल थियो। मैले बुझेँ‚ यो मान्छेसँग यो केस मात्र जोडिँदैन। यदि त्यसो भयो भने हामीले धेरै कुरा छुटाउँछौँ।' 

'कुरा गर्ने क्रममा उहाँ भावुक हुँदै मलाई कसरी यति गम्भीर आरोप लगाउन सक्छन्रु मलाई कसरी चोरीको आरोप लगाउन सक्छन्रु भन्दै हुनुहुन्थ्यो। उहाँको ओठ काँपिरहेको थियो। आँखा रसिला थिए।' नम्बीसँगको भेटबारे सम्झँदै माधवन भन्छन्, 'मैले तपाईं किन यति धेरै भावुक हुनुभएको अब त अदालतले पनि सफाइ दिइसक्यो। यो सबै झूटो हो भनेर भनिसक्यो भनेर भनेँ।'

उहाँले भन्नुभयो, 'त्यो मलाई थाहा छ, तिमीलाई थाहा छ, अदालतलाई थाहा छ तर गुगलमा मेरो नाम लेख अनि हेर के देखाउँछ?’ हुन पनि गुगलमा डा. नम्बी नारायणन भनेर सर्च गर्दा आइएसआरओ स्पाइ केससँग जोडिएर उहाँको नाम आउने रहेछ। पछिल्लो २४ वर्षदेखि उहाँ आफ्नो नाममा यही धब्बा बोकेर बाँचिरहनु भएको छ‚ कोर्टले निर्दोष सावित गरिसक्दा पनि। 

त्यसपछि मैले ७ महिना लगाएर स्क्रिप्ट लेखेँ। तयार भएपछि उहाँलाई देखाएँ। उहाँ र नासाका वैज्ञानिक लुइजी क्रकोको भेटको प्रसंग छुटेको रहेछ। जुन मलाई पनि आश्चर्य लागेको थियो।

सन् २०१७ मा पटकथामा आवश्यक परिमार्जन गरी 'रकेट्री स् द नम्बी इफेक्ट' नामसहित फिल्मको औपचारिक घोषणा भयो। प्रि प्रोडक्सनको काम सकेर २०१९ देखि फिल्म छायांकनमा उत्रिएको थियो। फिल्मलाई हिन्दी, तमिल र अंग्रेजी भाषामा तयार गरिएको छ। 

कुनै ठूलो प्रोडक्सन हाउसले रुचि नदेखाउँदा फिल्म निर्माणका क्रममा आर्थिक संकट पनि खेप्नुपर्‍यो। भारत सहित जर्जिया, रूस, फ्रान्स, सर्विया लगायतका देशमा छायांकन भएको फिल्मका सहनिर्माताको रूपमा पनि माधवन जोडिए। शुरुमा सहनिर्देशकको भूमिका निर्वाह गरेका माधवनमाथि पछि निर्देशकको सबै जिम्मेवारी पनि आयो। 

बीचमा कोरोनाले पनि असर गरेको फिल्मको छायांकन गत वर्ष अन्तिमतिर सकिएको थियो। यो वर्षको कान्स फिल्म फेस्टिभलमा गत मे १९ मा प्रिमियर भएको फिल्म जुलाई १ देखि हलमा छ। 

बक्स अफिसमा कमजोर शुरुवात गरेको फिल्मले समीक्षकबाट भने सकारात्मक प्रतिक्रिया पाएको छ। शुरुवाती दिनका केही शो दर्शक नहुँदा रद्द गर्नुपरेको थियो भने बिस्तारै हलमा दर्शकको चाप पनि बढ्दै छ। फिल्मको निर्देशकीय पाटोमा केही कमजोरी देखाइए पनि माधवनको लेखन र अभिनयको धेरैले प्रशंसा गरेका छन्। फिल्ममा माधवन २७ देखि ७५ वर्षका नम्बीको रूपमा देखिएका छन्। 

सन् १९९४ कै घटनालाई केन्द्र बनाएर त्यसको वरिपरि अरू कथाहरू जोडेर फिल्म रकेट्री बनेको छ। सन् १९९० को दशक जतिवेला विश्वमा सबै देशले आफ्ना स्याटेलाइट लन्च गर्ने लहर चलेको थियो‚ त्यो समय परिवेश फिल्ममा देख्न सकिने माधवन बताउँछन्।

उनी भन्छन्, 'स्याटेलाइट लन्च मार्केट ट्रिलियन डलरको मार्केट थियो। हरेक देश आफ्नो स्याटेलाइट अन्तरिक्षमा पठाउन चाहन्थे। धेरै देशसँग स्याटेलाइट थियो तर त्यसलाई माथि लैजाने उभर अमेरिका, फ्रान्स जस्ता देशहरूसँग मात्रै थियो। नम्बी नारायणन आइएसआरओलाई पनि त्यो क्षमतको लायक बनाउन चाहनुहुन्थ्यो। त्यति मात्र होइन उहाँ चलिरहेको खर्चभन्दा कममा त्यो सबै गर्न चाहनुहुन्थ्यो। जुन यही व्यवसायमा लागिराखेका देशहरू चाहँदैनथे। जसले गर्दा १९९४ को घटना घट्यो।'

सन् १९४१ मा तत्कालीन इस्ट इन्डिया कम्पनीको तमिलनाडुमा जन्मेका नम्बी सन् १९६६ मा टेक्निकल असिस्टेन्टको रूपमा आइएसआरओसँग जोडिएका थिए। त्यसपछि नासाको छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रिन्स्टन विश्वविद्यालय पढेका उनले तीन दशक आइएसआरओमा सक्रिय रूपमा काम गरेका थिए। 

सन् १९९४ मा आइएसआरओको रकेट इन्जिन फर्मूला विदेशीलाई बेचेको आरोप लागेका नम्बी जेल पनि बस्नु परेको थियो। २४ वर्ष कानुनी लडाइँ लडेपछि सन् २०१९ मा निर्दोष सवित उनलाई प्रतिष्ठित पुरस्कारद्वारा सम्मान गरिएको थियो।