असार २५, २०७९ शनिबार

कविता - मौनता

मौन आवाज
मौन व्यक्ति
मौन परिवेश
सधैँ मौन हुँदैनन्
हजारौं शब्दहरू लुकेका हुन्छन्
ती मौनतारूपी आवाजमा

लाखौँ भावनाहरू समाहित भएका हुन्छन् 
ती अन्तर्मनमा
जुन मौन व्यक्तिका हुन्छन्

करोडौँ किसिमका ज्वालामुखीका ज्वारभाटाहरू नाचिरहेका हुन्छन्
ती शून्यतारूपी मौन परिवेशमा

अनि कसरी नामाकरण गर्न सकिन्छ
मौन आवाज
मौन व्यक्ति
र 
मौन परिवेशलाई 
भावहीन भनेर ? 
अर्थहीन भनेर ? 
कुरूप र अस्तित्वहीन भनेर ? 

खासमा त 
अभिव्यक्त नगरिएका अनेकौँ शब्दहरूको
द्वन्द्व हो मौन आवाज

अन्तर्मनमा जन्मिने
गुन्जिने
रन्थनिने
अमापनीय
अकल्पनीय
र नगन्य 
सवाल-जवाफ र विचारहरूको अतृप्त उपज हो
मौन व्यक्ति
र कहिल्यै वर्णन गर्न नसकिने
एउटा मौन व्यक्तिको
सुन्दर
हराभरा
जुन-तारा
अँधेरी-उजेली
कला-प्रकृति 

अरूले कहिल्यै देख्न नसक्ने
रंगहरूको संगम हो मौन परिवेश

जसलाई आममानिसले मात्र अवमूल्यन गर्न सक्छन्
तर महसुस कहिल्यै गर्न सक्दैनन्

र 
म पनि यस्तै एउट मौन आवाजले भरिएको 
मौन व्यक्ति हुँ 
जसलाई अथाह प्रेम छ 
आफ्नो मौन परिवेशसँग
अन्तर्मनसँग
र अँधेरीसँग ।

🖋 आकांक्षा झा