काठमाडौँ– गण्डकी प्रदेश सरकारले तीव्र आलोचनापछि व्यक्तिको नाममा रहेको कोषका लागि विनियोजन गरिएको बजेट फिर्ता लिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका पिता गोवर्धन शर्मा स्मृति कोषलगायत विभिन्न व्यक्तिको नाममा रहेका ट्रस्ट, भवन निर्माण तथा पार्कलगायतका कार्यक्रम तथा बजेटका विषयमा तीव्र आलोचना भएपछि प्रदेश सरकार पछि हटेको हो ।
मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले आइतबार अबेर प्रेस विज्ञप्ति जारी गर्दै विवादित कार्यक्रम तथा बजेटका विषयमा नागरिकस्तरबाट असन्तुष्टि व्यक्त भएकामा मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
गण्डकी प्रदेशको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रममा गोवर्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस भवन निर्माण, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्कलगायतका कार्यक्रम तथा बजेट विनियोजन भएपछि तीव्र आलोचना भएको थियो ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारको कांग्रेसकै नेताहरूले पनि विरोध गर्दै त्यस्ता कार्यक्रमका लागि छुट्याइएको बजेट फिर्ता लिन दबाब दिएका थिए । प्रदेश सरकारले यस्ता कार्यक्रमका लागि करिब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।