असार २७, २०७९ सोमबार

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन गण्डकी रत्नबाट विभूषित भएका छन् । उनलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुनलाई पोखरामा सोमाबार उक्त सम्मान प्रदान गरे।

गण्डकी रत्नबाट विभूषित व्यक्तिका लागि सार्वजनिक कार्यक्रममा प्रदेशसभाका सदस्य सरहको मर्यादाक्रम निर्धारण गरिएको छ । प्रदेशभित्रका सरकारी अस्पतालमा नि:शुल्क उपचार, विमानस्थलको भीआइपी कक्ष उपयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै जिम्मा लिने गरी कार्यविधि बनाइएको छ।

छनोट समितिले ३ जनालाई छान्नसक्ने कार्यविधि भए पनि पहिलो पटक भएकाले एकजनालाई मात्र छनोट गरिएको जानकारी उनले दिए।

शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासन लगायत क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिमध्येबाट सम्मान गर्नेगरी कार्यविधि बनाइएको छ।

विभूषण ग्रहणपछि पुनले अनुसन्धान आफैंमा कठिन काम भएको भन्दै उनले १ सय वटा अनुसन्धानमध्ये १०-१५ वटामात्र सफल हुने भएकाले सतप्रतिशत नतिजा आउन नसक्ने भनाइ राखे।

अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरु समृद्ध भएको उदाहरण पुनले पेस गरे। 
 राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले १० करोड विनियोजन गरेको छ ।