मौन आवाज - गरीबहरूको घोषणापत्र - गाउँभरि टाँसेर -
दु:खका व्यापक पोस्टरहरू
हामी आएका छौँ मुलुकको राजधानी
र / नगरी कुनै पत्रकार सम्मेलन
घोषणा गर्छौं -
गरीबहरूको घोषणापत्र !
निरक्षर पहाडको चुलिमा
गाडेर पीडाको झन्डा
हामी आएका छौं नयाँ नारा बोकेर
यो देशमा खोल्नलाई अनाम पार्टी !
- पसिना हाम्रो अस्त्र हो
- रगत हो हाम्रो सिद्धान्त
- आगो हो आगो हाम्रो कार्यदिशा
- भोक हाम्रो विचार हो
र / नाङ्गो शरीर हो हाम्रो राजनीतिक किताब ।
हामीलाई थाहा छैन -
चे ग्वेभारा क्रान्तिकारी हुन् कि आतंककारी ?
थाहा छैन अलेक्जेण्डर महान
कसरी भयो महान ?
सुकरातले खाएको विषको नाम
हामीलाई कण्ठ छैन
हामीलाई एउटै कुरा कण्ठ छ -
बच्चाहरु भोकै छन्
आइमाईहरु भोकै छन्
भोकै छौं हामी पनि !
माओ त्सेतुङ्गको साम्यवाद
गान्धीको अहिंसावाद
अमेरिकाको साम्राज्यवाद ( टन्न अघाएकाहरुको दर्शन ,वा षडयन्त्र )
केही पनि बुझ्दैनौं हामी
हाम्रो भाग्यको बाटोमा लामो ( क्रस लाईन सत्ताले कोरेको छ )
हामी अलमल छौं युगौंदेखि !
- हामीलाई यशू बनाइएको छ ( अन्धकारमा क्रुसमा झुण्ड्याएर)
शान्त (निर्जीव झैं ) बुद्ध बनाइएको छ
महादेव बनाइएको छ धतुरो खुवाएर
- हामी निर्लिप्त बेहोसीबाट उठिसक्यौं
ब्युँझि सक्यौं अचेत चेतनाबाट
आइन्दा !
दु:खमाथि कविता लेख्न निषेध गर्छौं
गरिबी माथि भाषण गर्न निषेध गर्छौं
निषेध गर्छौं हामी माथि मनपरि कानून लाद्न
हामी यो राज्यमा घोषणा गर्छौं छुट्टै राज्य
घोषणा गर्छौं -
छुट्टै हाम्रो संघर्षको लडाईं -
हामीलाई बनाएर आधार
नगरे हुन्छ कम्युनिस्टहरुले राजनीति
काङ्ग्रेसहरुले प्रजातन्त्रको नफलाके हुन्छ गफ -
हाम्रो जिवनको भूगोल नागबेली छ
र / हामीलाई थाहा छ -
सत्ताको आश्वासन बोक्ने थोत्रो गाडी
हामीसम्म आइपुग्छ / विकास होइन ।
हामीलाई थाहा भैसक्यो -
कस्तो बन्दैछ देश / कस्तो बनाईंदैछ बजेट
चर्चरी फुटेको पाइतालामा राखेर विद्रोह
प्रतिरोधी चेतनाले पागल छौं हामी
कि हामीलाई दमन गर
कि आक्रोश हाम्रो समन गर !
निस्किसक्यौं -
भत्केका टहराहरुबाट निस्किसक्यौं
हिंडिसक्यौं खण्डहर सपनाको विपरीत बाटो ।
हामी आइपुग्यौं बिना सूचना
तिमीहरुको प्राधिकार क्षेत्रहरुमा
हेर -
ओर्लेर सिंहदरबारको कौसीबाट
हामी कस्ता देखिन्छौं ?
भिखारी जस्ता ?
वा / विद्रोही जस्ता ?
मस्तिष्कमा बोकेर विकल्पको अन्तिम क्षेप्यास्त्र
हामी आएका छौं मुलुकको राजधानी
र / नगरि कुनै प्रचारबाजी
घोषणा गर्छौं -
गरिबहरुको घोषणापत्र !
✍️ मौन आवाज - ( २०७१ सालमा प्रकाशित " यो शताब्दीमा म पनि छु " संग्रहबाट )