असार २९, २०७९ बुधबार

भाषास्तम्भ किरीट काव्यकुलका छौ भानुझैँ प्रोज्ज्वल
मेघाच्छन्न असारको नभ थियो झुल्क्यौ भई झल्मल ।
तिम्रा सिर्जन रश्मिले सगरको फारी दियौ बादल 
हाम्रा गौरव भानुभक्त पहिला भाषाद्रि काव्याचल ॥१॥

तिम्रा सिर्जन नित्य लोकहितका उत्थानका खातिर
तिम्रा काव्य सुधारनिम्ति जनको चैतन्यका खातिर ।
हे आद्यक्षररूप आदिकवि हे भाषा महासेवक
हे द्रष्टा युगका नवीन मतका साहित्यका दीपक ॥२॥  

चिन्ने सत्य र सत्य पालन गरी सन्मार्गमा उन्मुख
तिम्रा नारद सत्यलोकतिर गै खोजे सबैको सुख । 
चर्को शासन बेथिती कति सही बाँच्यौ तिमी तैपनि
इच्छा बिम्बित शीर्षवाक्य गतिलो “लोक् को गरूँ हित् भनी” ॥३॥

भर्दै नैतिक चेतना मनुजमा क्या दिव्य भिक्षा दियौ
कुण्ठाग्रस्त समाज भक्तिपथमा मोडेर शिक्षा दियौ ।
हान्दै मार्मिक काव्यबाण शठको सातो र पुत्लो लियौ
खन्दै मार्ग नवीन भिन्न गतिलो गन्तव्य नौलो दियौ ॥४॥

आशीर्वाद म पाउँला कि गुरुको आशा छ मेरो सधैँ
तिम्रो भक्त र शिष्य बन्न पदको यात्रा छ मेरो सधैँ ।
दिव्यालोक दियौ मिल्यो अमरता सम्मान आभार छ
श्रद्धासाथ झुकेर आदिकविमा मेरो नमस्कार छ ॥५॥

— ✍️गिरिराज जोशी
 निकुञ्जमालाबाट