साउन २, २०७९ सोमबार

 


अघोरीहरूको घनघोर ताण्डव हुँदै गरेको एक समय
संसद् नजिकै 
महामृत्युञ्जयको 
महामन्त्रोच्चारण गर्दै गरेको 
मार्च पासको दृश्य 
कुनै दूतावासको भव्य भेटघाटको 
झल्को दिइरहेको थियो 

उत्सव भैरहेथ्यो नटराजहरूको
अनिष्टलाई स्वागत गर्न
उनीहरू पटक्कै चाहँदैनथे
कसैको जीवन,
न त मोक्ष प्राप्ति नै !
मंत्रोच्चारण हुँदै थिए केवल
आफ्नै विनाशका लागि

उदण्ड मचाइरहेथे
आ-आफ्नै जटा निमोठेर
कपालको लामो आयुका लागि

प्रस्ट देखिन्थ्यो
उनीहरूको 
कायामाथि देशको खरानी

अघोरीहरू अवगत थिए
देशको स्वामी 'रुद्र'
यतिबेला
स्वयं  विषाक्त भएर छट्पटाइरहेछ,
आफ्नै टारको कुनै कैलाश कोठाभित्र

आफ्नो अन्तिम संसारिक श्वासमा
उसले
फेरिरहेछ विषालु आश्वासनका 
मिति पूरा भइसकेका
देशै खाने अर्ती उपदेशहरू 

कुनै निश्चित चुनावी एजेन्डा जस्तै 
आैपचारिकता निभाइरहेछ,
आफ्ना अन्धा र बहिरा भक्तहरूलाई 
उनीहरुले मात्र बुझ्ने लिपिमा 

कसरी थाहा पाउँछन् अघोरीहरूले 
कसैको मृत्युको साइत,
किन खाइदिन्छन् अघोरीहरूले 
आफ्नै प्रजातिको मांस
देखिन्छन्  किन अघोरीहरू
मात्र
कुम्भ र महाकुम्भमा ?

राहदानी विभाग बाहिरको भिड जस्तै 
जिज्ञासाले काैतूहल बनेका नजरहरू
अपवित्र बनेर फर्किए,
जीर्ण र रुग्ण देखिन्थे अघोरीहरू
मुक्ति खोजिरहेका थिए 
घाँटीमा झुण्ड्याइएकाे पार्टीको कंकालबाट !


● प्रचण्ड भाष्कर