चैत २३, २०७७ सोमबार

कतार प्रहरीमा नेपाली युवा पठाउनका लागि अहिले कतारस्थित नेपाली दूतावासबाट कुनै मागपत्र प्रमाणीकरण नभएको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभिन्न व्यक्ति तथा संस्थाहरुले नेपाली नागरिकलाई प्रलोभनमा पारेर राहदानी लगायतका कागजात संकलन गर्ने, अन्तर्वार्ता लिने तथा रकम माग गर्ने लगायतका कार्य भइरहेको गुनासो आएको भन्दै विभागले चासो व्यक्त गरेको हो।

विभागले सोमबार विज्ञप्ति निकालेर भनेको छ, ‘वैदेशिक रोजगारीको गन्तव्य मुलुक कतारमा नेपाली कामदार पठाउने कार्य निरन्तर रुपमा जारी रहेको भएता पनि कतार प्रहरीको लागि हाल कतार स्थित दूतावासबाट कुनै माग पत्र प्रमाणीकरण भएको छैन। विभागबाट पनि कुनै पनि पूर्व स्वीकृति प्रदान गर्ने कार्य नभएको हुँदा कतार प्रहरीको नाममा हुनसक्ने सम्भावित ठगीबाट बच्न अनुरोध छ।’

सन् २०२२ मा हुने विश्वकप फुटबललाई लक्षित गरेर कतारले आफ्नो प्रहरी बलमा नेपाली युवाहरुलाई भर्ना गरिरहेको खबर केही समयदेखि आएका थिए।

सिंगापुर, मलेसिया र भारतमा नेपाली युवाहरु प्रहरीसहितका सुरक्षा निकायमा भर्ति गर्न पाउने बारे नेपालले सम्बन्धित देशसँग सम्झौता गरेको छ। तर कतारसँग त्यस्तो सम्झौता भएको छैन।

कतारमा आउँदो २०२२ मा विश्वकप फुटबल हुँदैछ। त्यसका लागि भइरहेका निर्माण कार्यमा संलग्न विदेशी कामदारहरुको सुरक्षा तथा सेवा–सुविधा तथा मावनअधिकारको अवस्था नाजुक रहेको भन्दै आलोचना हुने गरेको छ।