साउन ३, २०७९ मंगलबार

सिमकोट: जोखिममा रहेका बस्तीका लागि आएको बजेट फिर्ता गएको पाइएको छ।

सिमकोट गाउँपालिका-४ को उच्च जोखिमका रहेको स्याम्ने गाउँको बस्ती बिस्तारका लागि आएको बजेट फिर्ता गएको हो।

उक्त गाउँ स्याम्ने खोलाको किनारमा रहेको कारण पटक-पटक पहिरो ग‍इरहने भएको कारण जोखिममा रहेको स्थानीय माधव महतले बताए।

२०७० सालमा पहिरोले मानवीय क्षति नभए पनि भौतिक क्षति पुर्‍याएको थियो। त्यसपछि गाउँवासीले बस्ती बिस्तारको माग राख्दै आएका थिए।

स्थानीय महतले स्थानीयले जग्गा व्यवस्था गर्न नसक्नु र डिपिआर अनुसार घर बनाउने बजेट पनि कम भएको कारण बस्ती बिस्तार नभई बजेट फिर्ता गएको बताए।

स्याम्नेबासीको चाहना जग्गा खरिददेखि घर निर्माण सरकारले नै गरिदियोस भन्ने रहेको थियो। कार्यक्रम परे पनि अपुग बजेटका कारण स्याम्नेबासीको बाढी पहिरोको डरमा बस्नुपर्ने बाध्यता अहिले पनि हट्न सकेन।

सिमकोट गाउँपालिकाको कार्यालयका सबइन्जिनियर सुवास भण्डारीले संघीय सरकारको उच्च हिमाली बस्ती बिस्तारका लागि आएको एक करोड पचास लाख बजेट काम हुन नसकेपछि फिर्ता गएको जानकारी दिए।

उनका अनुसार १८ घरधुरीका लागि प्रतिघर पाँच लाख ३३ हजार बजेट बिनियोजित भएकोमा काम हुन नसकेपछि फिर्ता गएको हो।

बस्ती बिस्तारको डिपिआर अनुसार डिपिसीसहितको घर निर्माण हुनुपर्ने थियो। कुल बजेटमध्ये पचास लाखबाट भने पूर्वाधार विकासमा खानेपानी, विद्युत, सिचाइँलगायत निर्माण गर्नुपर्ने हुन्थ्यो।