साउन ६, २०७९ शुक्रबार

नेपाली लोक गीतका हस्ती कल्याण शेरचनको जन्मजयन्तीको अवसरमा ‘राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता’ यही साउन १२ गतेदेखि पोखरामा हुँदैछ । शेरचनको ७६औँ जन्मजयन्तीको अवसरमा पोखरा सभागृहमा तीन दिने दोहोरी गीत प्रतियोगिता हुन लागेको हो । 

आयोजक कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौंस्थित ‘ईन्द्रणी’ कार्यक्रमको स्टुडियोमा बिहीवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै मोफसलको हालसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो । 

प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ ‘ह्योल्मो’ले स्वर्गीय शेरचनको पोखरामा प्रतिमा स्थापना गर्ने मूल उद्धेश्यले प्रतियोगिता गर्न लागिएको उक्त पत्रकार सम्मेलनमा जानकारी दिए । 

‘प्रतियोगिता सम्पन्न गर्नासाथ प्रतिमा निर्माणको कार्य थालनी गर्नेछौँ,  त्यसपश्चात पोखरामा लोक-बाजाहरूको संग्रहालय निर्माण गर्ने हाम्रो उद्धेश्य छ’ अध्यक्षले गुरुङले भने । 

प्रतियोगिताका लागि गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, प्रतिष्ठान मातहतका प्रदेश र जिल्ला शाखाहरू, इन्द्रेणी साँस्कृतिक समाज काठमाडौं र हिमाली साँस्कृतिक परिवार पोखराको सहकार्य रहेको कार्यक्रममा जानकारी दिइयो । 

प्रतियोगितामा प्रथम हुने समूहले ६ लाख नगद पुरस्कार पाउने कल्याण शेरचन स्मृति प्रतिष्ठानले जनाएको छ । द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः ४ लाख, २ लाख र १ लाख रुपैयाँ नगद प्रदान गरिनेछ । 

प्रतियोगितामा उत्कृष्ट गायक–गायिकालाई ५०/५० हजार रुपैयाँ र अनुशासित समूहलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कार्यक्रममा जानकारी दिइयो । 

कार्यक्रम संयोजक एवं आयोजक संस्थाका सचिव जीवन दाहालले नाङ्लोमा राखेर नगद पुरस्कार प्रदान गरिने र ट्याक्स प्रतिष्ठानले छुट्टै तिर्ने जानकारी दिए । 

प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढाइएको र प्रतियोगितामा ४० देखि ५० समूहको सहभागिता रहने आँकलन गरिएको उनले बताए । प्रतियोगितामा एक महिला र एक पुरुष गरी दुई–दुई जनाको समूह रहने र समूह दर्ताका लागि २ हजार रुपैयाँ तोकिएको दाहालले जानकारी गराए । प्रतियोगितामा प्रवेश शुल्क भने लाग्ने छैन । 

प्रतियोगितामा ५५ लाख आम्दानी र ३९ लाख रुपैयाँ खर्च हुने अपेक्षा आयोजकको छ । बचत रकमबाट स्वर्गीय शेरचनको प्रतिमा स्थापना गरिने कल्याण शेरचन स्मृति प्रतिष्ठानको भनाइ छ । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीको संयोजकत्वमा निर्णायक मण्डल रहनेछ । कार्यक्रममा बोल्दै बिजीले पोखरामा भव्य दोहोरीगीत प्रतियोगिता आयोजना गर्ने र देशभरका प्रतिभाहरूलाई मञ्च दिने स्वर्गीय शेरचनकै सपनामध्येको एउटा सपना रहेको र सोही सपना पूरा गर्न लागिएको बताए । उनले लोक स्रष्टा शेरचन बाँचुञ्जेल आफ्नो कर्म र भोगाइले बाँचे पनि  अहिले आफ्ना कृति र स्मृतिले जीवित रहेको बताए ।

उनले स्वर्गीय शेरचनको प्रतिभा स्थापनापश्चात त्यो ठाउँमा पुग्दा नवप्रतिभाहरूको शिर श्रद्धाले झुकोस्, साथीसंगीतहरूले सम्झने ठाउँ बनोस्, भोलिका दिनमा त्यो प्रतिमामा पुग्दा लोकसंगीतको एउटा इतिहास जान्न सकियोस् भन्ने उद्धेश्य रहेको बताए । 

अध्यक्ष बिजीले कार्यक्रमलाई भव्य बनाउन सबैको साथ आवश्यक रहेको बताए । लोकप्रिय कार्यक्रम ‘ईन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले प्रतियोगितालाई सफल बनाउन प्रतियोगिताभर आफ्नो कार्यक्रमको टिम पोखरामा रहने बताए । 

प्रतियोगितामा लोकदोहोरी एवं चलचित्र क्षेत्रमा योगदान पुर्‍याएको भन्दै अग्रज लोक स्रष्टा एवं चलचित्र निर्देशक नारायण रायमाझीलाई सम्मान गरिने तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका योगेन्द्रबहादुर बस्नेतलाई मरणोपरान्त सम्मान गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

वि.स. २००३ साल साउन १२ गते पोखराको रानीपौवामा जन्मिएका स्वर्गीय लोक स्रष्टा, गायक शेरचनले ग्रामिण कुना कन्दरामा गाइने नेपालीपन बोकेका मौलिक लय एवं भाकालाई संकलन गरेर कालजयी बजाउनमा महत्वपूर्ण योगदान दिएका छन् । 

‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ’, ‘कलिलो तामालाई सोध रामलाई’, ‘काली पनि देखेँ मैले गोरी पनि देखेँ’ लगायत उनका दर्जनौँ गीतहरू जनजिब्रोमा झुण्डिएका छन् । 

वि.स. २०६७ साल माघ २४ गते शेरचनको निधन भएको थियो । त्यसपश्चात उनको स्मृतिमा ‘कल्याण शेरचन स्मृति प्रतिष्ठान’को स्थापना गरिएको थियो ।