आँखा निकालेर दुबै
थन्क्याइदिन्छु ड्रअरमा
झिक्छु मस्तिष्क
र राख्छु टेबलमाथि
निकाल्छु छातीबाट संसारलाई प्रेम गरीहिँड्ने मुटु
गन्ध, स्वाद, स्पर्श र अनुभूतिका
छुट्याउछु एक एक इन्द्रीय
अलग अलग बनाउछु
नाडी र हत्केला
खुट्टा र पैताला
रहन्न बाँकि
तर्क, विचार र सामान्य विवेक
गुमाएर सारा निजत्व
रहन्छु शेष
कङ्कालको फ्रेममाथि चलायमान पुत्ला
र मिसिन्छु भीडमा
अनि बल्ल म
तिमीलाई मनपर्ने मान्छे हुन्छु
तर माफ गर्नू
मात्र तिमीलाई मन पर्न
मन्जुर छैन मलाई
पुत्ला हुनु ।
कवि सरिता तिवारी
( प्रश्नहरूको कारखाना सङ्ग्रहबाट)