साउन ९, २०७९ सोमबार

बैतडीको सुर्नया गाउँपालिका–७ मा अवस्थित केदार माध्यमिक विद्यालयको भवनमा स्थानीय गणेश साउँदले करिब १ दर्जन बाख्रा बाँध्नुका साथै घाँसदाउरा राख्ने गरेका छन् ।

साउँदले विद्यालयको नाममा रहेको उक्त जग्गा आफ्नो रहेको दाबी गर्दै चार महिनादेखि बाख्रा बाँध्ने गरेको पाइएको हो । गत वर्ष नापी कार्यालयबाट प्राविधिक टोली बोलाएर नापजाँच गर्ने क्रममा उक्त भवनको जमिन विद्यालयको नाममा रहेको भेटिएको विद्यालयका प्रधानाध्यापक उत्तरबहादुर कुँवरले बताए ।

विद्यालयको जमिनमा रहेको संरचना विद्यालयले नै प्रयोग गर्न पाउनुपर्ने उनको भनाइ छ । तर, स्थानीय गणेश साउँद जमिन आफ्नो रहेको दावी गर्छन् । २०५२ सालमा शिखरपुर स्वास्थ्य चौकीका लागि उक्त भवन निर्माण गरिएकोमा  थप संरचना निर्माणका लागि जमिन पर्याप्त नभएकाले अर्को ठाउँमा सारिएको थियो । स्वास्थ्य चौकी अर्को ठाउँ सार्ने क्रममा विद्यालयले स्वास्थ्य चौकीलाई तीन लाख रुपैयाँ दिएको विद्यालयका लेखापाल कमल साउँदले बताए  । उक्त भवनलाई विद्यालयले दिवाखाजा पकाउने क्यान्टिनका रूपमा प्रयोग गर्दै आएको थियो । 

तर, गणेश साउँदले भने स्वास्थ्य चौकीलाई आफूले दान गरेको जमिनमा आफ्नो मात्रै हक हुने बताउँछन् । उनले भने, ‘२०५२ सालमा स्वास्थ्य चौकीलाई  दान गरेको हुँ, स्वास्थ्य चौकी सरेपछि उक्त जमिन र संरचना मेरै हुन्छ ।’ नापीको टोली बोलाएर नापजाँच गरेको विषयमा आफू जानकार नरहेको उनी बताउँछन् ।  गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरसहितको टोली छलफलमा बसे पनि स्थानीय गणेशबहादुर साउदले आफूले उक्त संरचना नछोड्ने अडान राखेपछि विवाद समाधान हुन सकेको छैन ।