जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ५ लासीमा रहेको ज्योति आधारभूत विद्यालयमा यस वर्ष कुनै पनि विद्यार्थीले भर्ना नगरेपछि ग्रामीण भेगका सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण घट्दै गएको प्रष्ट हुन्छ ।
विद्यालयको भवन छ । पढाउने एउटा स्थायी दरवन्दी छ, एउटा राहत शिक्षक, एउटा गाउँपालिकाअन्तर्गतको अनुदान शिक्षक, एक निजी र एक सहयोगीसहित पाँच जना छन् । कक्षा चारसम्म पढाइ हुन्छ । अनुमति पाँच सम्मको छ। पातारासी गाउँपालिकाले तीन कोठे पक्की भवन बनाइ दियो, डेस्क बेन्च पनि सहयोग गरेको छ। ३२ जना विद्यार्थी रहेकोमा कहिलेकाही त एक जना विद्यार्थी पनि विद्यालयमा हुँदैनन् । सबै कक्षाका टेबुलहरू खाली हुन्छन् ।
शिक्षकहरू विद्यालय आउँछन्, हाजिर गर्छन् र चौरमा एकैछिन गफिएर आफ्नो घरमा फर्कन्छन् । विद्यालयकी प्रधानाध्यापक सरस्वती कुमारी ऐडीका अनुसार समुदायका विद्यार्थीहरू सबै बोर्डिङ जान थालेपछि सामुदायिक विद्यालय खाली भएका छन्। विद्यालयप्रति अभिभावकको चासो नभएको उनले गुनासो पोखिन्।