साउन १४, २०७९ शनिबार

【 तेन्जिङ नोर्गे शेर्पाले गल्ती गरे 】

°°°

तेन्जिङ नोर्गे शेर्पाले जबसम्म याक चराए 
उनले गल्ती गरेनन् 
जबसम्म अरूको भारी मात्रै बोके
उनले गल्ती गरेनन् 
भरियाका सरदारै बन्दा पनि गल्ती गरेनन्

पटक पटक घर छोडेर भाग्दा पनि उनले गल्ती गरेनन्
उनले पहिलो पल्ट गल्ती गरे 
सगरमाथाको तालु हेर्ने सपना पालेर
उनले दोस्रो गल्ती गरे अंग्रेजहरूको प्रिय बनेर

उनले तेस्रो गल्ती गरे 
स्वीसका रेमण्ड ल्यामबर्ट सँगै 
पहिलो पल्ट सगरमाथाको छाती टेकेर 
नोर्गेका गल्तीहरूको उचाइ बढ्दै गयो

जब उनी सर एडमण्ड हिलारी सँगै
सगरमाथाको तालुमा पुगे
नेपाल, भारत,बेलायत र न्यूजिल्याण्डको 
झण्डा फरफराउने बेला 
उनले लेखिमाग्नु थियो हिलारी सँग
नेपालको झण्डामा ठूला ठूला अक्षरमा
खबरदार! होसियार! दुनियाँ
तर उनले गल्ती गरे आफ्नो प्रिय कलम त्यही गाडेर

उनले गल्ती गरेकै कारण दुनियाँले
सगरमाथाको तालुमा खुट्टा हिर्कायो

उनकै गल्तीका कारण दुनियाँले
नेपालको उचाइ ध्वस्त पार्ने सपना देखे

सगरमाथाको फेदमा 
मिसाइल हान्ने मान्छेले पक्कै
भोलि तेन्जिङ नोर्गे शेर्पालाई धन्यवाद दिँदै हुनेछ!

तेन्जिङले सगरमाथा चढेर गल्ती गरे
गल्ती गरे उनले दुनियाँलाई नेपाल चिनाएर!

● प्रचण्ड भाष्कर