साउन १४, २०७९ शनिबार

भुलेर आफ्नै स्वाभिमान
रिझाइरहेँ -हिड्दा ठोक्किएका कुमहरू 
कसैले बिर्सनै नसक्ने बनाउन खोजे -आफ्नो नाम
त्यसैले त नाँच्नुपर्छ भन्दा नाँचिरहेँ-
मदारीको डमरुमा उफ्रने बाँदर जस्तै 
फुल्नुपर्छ भन्दा फुलिरहेँ- 
काँडा बीचको फूल जस्तै 

जब नाँच्दानाँच्दै पल्टिएँ
तब नाँच हेरेर नअघाएकाहरूले भने- 
" यो त उच्छृङ्खल जनावर हो । "

जब फुल्दाफुल्दै ओइलिएँ 
तब बास्ना लिएर मन नभरिएकाहरूले भने-
" यो त जङ्गली झार हो  ।" 
 
अचेल बुकी फूलझैँ हुन मन लाग्छ 
देख्दै आइरहेको  तर कसैले नचिनेको 
किनकि 
कसैले चिन्न नसक्नुको दु:ख भन्दा 
सबैले चिन्नुको डर भयानक हुँदो रहेछ  ।

✍️ Subash Upadhaya
     हेटौँडा-४,मकवानपुर