साउन १४, २०७९ शनिबार

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या एक सय नाघेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ मा सङ्क्रमण देखिएसँगै सक्रिय सङ्क्रमितको संख्या एक सय नाघेको हो ।

हाल यो प्रदेशमा सक्रिय सङ्क्रमित ११६ रहेका छन् । जसमा सबैभन्दा बढी कैलालीमा ७५, कञ्चनपुरमा ३५ र बैतडीमा छ जना सक्रिय सङ्क्रमित रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कुनै बेला शून्यमा झरेको कोरोना सङ्क्रमणदर हाल बढ्दै गएसँगै जोखिम बढेको हो । सीमा जोडिएको प्रदेश भएकाले भारतमा सङ्क्रमणदर बढ्दै गएकाले त्यसको प्रभाव सुदूरपश्चिममा पनि देखिन थालेको निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

गत असार ३२ गते शून्यमा झरेको सङ्क्रमणदर त्यसयता बढ्दै गएको छ । उनले भने, ‘भारतमा कोरोना सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको प्रदेश सुदूरपश्चिममा पनि देखिन थालेको छ । जोखिम बढ्दै गएकाले सतर्कता अपनाउन थालिएको छ ।’

पूर्व निर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तर रूपमा भइरहेको छ । उनले भने, ‘जोखिम बढेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । कैलाली र कञ्चनपुरमा एक एक हजार शय्याका होल्डिङ सेन्टर निर्माण सम्पन्न हुँदै छन् ।’

यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राख्दै बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तर रूपमा सञ्चालनमा रहेको जोशीको भनाइ छ । उनले भने, ‘सीमा क्षेत्रमा स्वास्थ्य परीक्षणमा कडाइ, खोप कार्यक्रममा तदारुकता गरेका छौं ।’

सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५८ हजार २१२ को कोरोना परीक्षण गरिएकोमा ५९ हजार आठ सय ६७ मा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा ६३३ को ज्यान गइसकेको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा समेत कोरोना सङ्क्रमण बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरुपमा पालना गर्न निर्देशनालयको आग्रह छ । भीडभाडमा नजान, घर बाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न आग्रह गरिएको छ । रासस