साउन २२, २०७९ आइतबार

दुर्गेश थापाको नयाँ गीत ‘बिच्च बिच्चमा ६’ युट्युब ट्रेन्डिङमा उक्लिरहेको छ । गत शुक्रवार सार्वजनिक गीत यतिबेला ट्रेन्डिङको शीर्ष ९ स्थानमा छ । 

तीन वर्षअघिको आफ्नो सर्वाधिक चर्चित गीत ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’को भाग ६ का रुपमा दुर्गेशले यस गीत सार्वजनिक गरेका हुन् ।  गीतमा उनकै शब्द, संगीत र स्वर छ ।

श्यामश्वेत रसाइलीले गीतको एरेन्ज तथा मिक्सिङ गरेका हुन् । दुर्गेशको यसपटकको गीतलाई भने धेरैले तारिफ गरेका छन् ।  उनको यसपटकको गीत सन्देशमूलक छ ।

छोरा–छोरीबीच हुने भेदभावको विषयलाई ‘बिच्च बिच्चमा ६’मा समावेश गरेका छन् । विगतमा जस्तै यसपटक पनि भिडियोमा दुर्गेश स्वयंले अभिनय गरेका छन् । 

साथमा, बाल कलाकारद्वय जेविन र जेविस श्रेष्ठको भिडियोमा फिचर्ड छन् । भिडियोले युट्युबमा भ्युज पनि राम्रै पाएको छ । 

आइतवार दिउँसोसम्म झण्डै ४ लाखले भिडियो हेरेका छन् ।  क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । ‘डि–सिरिज’ युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।