अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी’ असोज १४ गते रिलिज हुने भएको छ । भदौ ३१ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब दशैंको फूलपातिको छेकोमा प्रदर्शन हुने भएको निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।
असोज १४ लाई यसअघि ‘परदेशी २’ले प्रदर्शन मिति तोकेको थियो । तर, दशैं तिहारमा चलचित्रहरूको भीडभाड भएको कारण देखाउँदै नारायण रायमाझी निर्देशित ‘परदेशी २’ले फागुनको ५ गतेलाई नयाँ प्रदर्शन मिति तोकिसकेको छ । ‘परदेशी २’ फागुनमा पुगेपछि उक्त मितिमा ‘बाबरी’ आउने भएको हो ।
बाबरी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको ‘बाबरी’ले त्रिकोणात्मक प्रेमकथा पेश गर्छ । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको चलचित्रमा धिरज मगर र अदितिका साथमा धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइरालालगायतको अभिनय छ । सिजन दाहाल, मनोज त्रिपाठी, रितसिंह बोहरा र किशोर नेपालले मिलेर पटकथा तथा संवाद लेखेका हुन्
नरेन्द्र मैनालीको छायाँकन रहेको चलचित्रलाई निर्देशक पौडेलले नै सम्पादन गर्नेछन् ।