इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४’ र ‘मेरो भ्वाइस कप यूएसए २’को ग्राण्ड फिनाले अमेरिकामा सम्पन्न भएको छ ।
अमेरिकाको कोलम्बस शहरमा आयोजना भएको फाइनलमा ‘मेरो डान्स कप यूएसए’को उपाधि रेनुका राईले जित्न सफल भएकी छन् । उनले, ताजसँगै १० हजार डलर र टोयोटा र्याभ फोर गाडी प्राप्त गरेकी छन् ।
यस्तै, ‘मेरो भ्वाइस कप’को उपाधि भने प्रवीण बर्देवाले जितेका छन् । उनले पनि १० हजार डलर पुरस्कार र टोयटाको गाडी प्राप्त गरेका छन् । उत्कृष्ट १२ सम्म अमेरिकामा नै छनोट गरेर त्यसपछि सेमिफाइनलसम्मको प्रतिस्पर्धा नेपालमा आयोजना गरिएको थियो । नेपालमा सेमिफाइनल सकेर दुवै रियालिटी शोको युनिट अमेरिका फर्किएको थियो ।
‘मेरो डान्स कप’को फस्ट रनरअप आयुषा समाल हुन सफल भएकी छन् भने सेकेन्ड रनरअप सुमिका तामाङले जितेकी छन् ।
‘मेरो भ्वाइस कप’ तर्फ भने फस्ट रनरअप करण तामाङ बनेका छन् भने सेकेन्ड रनरअपको उपाधि सितल शर्माले जितेकी छन् ।
‘मेरो भ्वाइस कप’का विजेतालाई इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार प्रदान गरेका थिए । यस्तै, ‘मेरो डान्स कप’का विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले पुरस्कार प्रदान गरेका थिए ।
दर्शकहरूको भोटिङका आधारमा विजेता छनोट गरिएको हो । फाइनल प्रतियोगितामा दर्शकहरूको बाक्लो भीड थियो । शोमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायकहरू नरेन्द्र प्यासी, शिव परियार, केशव पौडेल, मनोजराज सिवाकोटी, सुजाता बर्मा, अर्जुन रसाइली, जगदीश समाललगायतले आफ्नो प्रस्तुति दिएका थिए ।
यस्तै, कार्यक्रममा कलाकारहरू साराङ्गा श्रेष्ठ, दीलिप रायमाझी, केकी अधिकारीले नृत्य प्रस्तुत गरेका थिए । शोमा अमेरिका र क्यानडामा बसोबास गर्दै आएका नेपाली भाषीहरूले प्रतिस्पर्धा गरेका थिए । इन्ट्रा फाउन्डेसनले आउँदो वर्षदेखि ‘मेरो डान्स युनिभर्स र मेरो भ्वाइस यूनिभर्स’को आयोजना गर्दैछ । जहाँ, विश्वभर छरिएर रहेका नेपालीहरूले भाग लिन सक्ने जनाइएको छ ।